२०८३ वैशाख २२ , मंगलबार

सुर्खेत विमानस्थल र विकास परियोजना अघि बढ्दै: सांसद सापकोटा



सुर्खेत ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश कुमार सापकोटाले सुर्खेत विमानस्थलको स्तरउन्नति नै पहिलो प्राथमिकता रहेको बताएका छन् । मंगलबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नयाँ विमानस्थलका चर्चा भए पनि तत्कालका लागि वर्तमान विमानस्थल विस्तार गर्नु नै उपयुक्त विकल्प भएको स्पष्ट पारे । सांसद सापकोटाले विमानस्थल विस्तारको विषय लामो समयदेखि अलपत्र अवस्थामा रहेकाले प्रभावित क्षेत्रका नागरिक अन्योल र सास्तीमा परेको उल्लेख गर्दै यो समस्या छिट्टै समाधान गर्न आफू सक्रिय रहेको बताए।

उनका अनुसार विमानस्थल विस्तार कर्णाली प्रदेशको यातायात र आर्थिक विकासका लागि अत्यन्त आवश्यक पूर्वाधार हो । यसैबीच उनले पश्चिम सुर्खेतमा सञ्चालनमा रहेको सूर्यतारा सिमेन्ट उद्योगसम्बन्धी काम अघि बढेको जानकारी दिए । उद्योग सञ्चालनका प्रक्रियागत समस्या समाधानका लागि उद्योग मन्त्रालयसँग छलफल भइरहेको उल्लेख गर्दै आवश्यक समन्वयमार्फत काम अगाडि बढाइने उनले बताए । त्यस्तै, पश्चिम सुर्खेतको पूर्वाधार विकास अन्तर्गत सडक बत्ती जडानको काम पनि अघि बढेको सांसद सापकोटाले जानकारी दिए ।

उनका अनुसार स्थानीय तह र सम्बन्धित निकायको समन्वयमा सडक बत्ती विस्तार कार्य क्रमशः अघि बढिरहेको छ । सापकोटाले कर्णाली प्रदेशमा साना तथा स्थानीय विकासका विभिन्न योजना पनि अघि बढिसकेको बताए । सडक, उज्यालो, खानेपानी तथा अन्य आधारभूत पूर्वाधारसम्बन्धी साना विकास योजनाहरू कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरे । उनले विकास आयोजनामा देखिएका ढिलाइ र अवरोध हटाउन निरन्तर पहल भइरहेको भन्दै कर्णालीको समग्र विकासका लागि संघीय सरकारसँग समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार