२०८३ जेठ ४ , सोमबार

कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक सुरु



सुर्खेत ।  कर्णाली प्रदेश समन्वय परिषद्को ११औँ बैठक आज सुर्खेतको वीरेन्द्रनगरमा सुरु भएको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आयोजित बैठकमा प्रदेश र स्थानीय तहबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल भइरहेको छ । बैठकमा अघिल्लो (१०औँ) बैठकका निर्णयहरूको समीक्षा गरिनुका साथै स्थानीय तहका कर्मचारीहरूको विवरण, कामकाजको अवस्था र प्रदेश तथा स्थानीय तहबाट सञ्चालन भइरहेका विकास आयोजनाहरूको समन्वयबारे विचार–विमर्श भइरहेको छ । साथै, साझा अधिकारका विषय, स्थानीय तहबाट प्रदेशलाई पठाइने राजस्व तथा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माण प्रक्रियाबारे पनि छलफल गरिने जनाइएको छ ।

प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवका अनुसार बैठकले प्रदेश–स्थानीय तहबीचको समन्वयलाई थप सुदृढ बनाउने, बेरुजु फर्छ्योट सम्बन्धी क्षमता विकास गर्ने, स्थानीय तहका कानुनहरूको प्रदेशस्तरमा अभिलेखीकरण गर्ने तथा कानुन निर्माण प्रक्रियालाई व्यवस्थित बनाउने विषयमा निर्णय लिने अपेक्षा गरिएको छ । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीविक्रम शाह, परिषद्का सदस्यहरू तथा नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ र जिल्ला समन्वय समिति महासङ्घका प्रतिनिधिहरू आमन्त्रित सदस्यका रूपमा सहभागी भएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार