२०८३ जेठ ४ , सोमबार

हुम्लाबाट कुपोषित आमा–शिशु जुम्ला रेफर



हुम्ला ।  ताँजाकोट गाउँपालिकामा कुपोषण समस्या गम्भीर देखिएपछि ११ जना शिशु र १० जना आमालाई उपचारका लागि जुम्ला पठाइएको छ । गाउँपालिकाका विभिन्न बस्तीमा गरिएको पोषण लेखाजोखाका क्रममा पाँच वर्षमुनिका बालबालिकामा अति कुपोषण भेटिएपछि उनीहरूलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पोषण पुनर्स्थापना केन्द्रमा रेफर गरिएको हो ।

स्वास्थ्य शाखाका खोप तथा पोषण सम्पर्क व्यक्ति धनराज ढकालका अनुसार पहिलो चरणमा उच्च जोखिममा रहेका आमा र शिशुलाई प्राथमिकताका साथ जुम्ला पठाइएको हो । यसअघि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले घरदैलोमै पुगेर पोषण अवस्था परीक्षण गरी कुपोषित बालबालिका पहिचान गरेका थिए ।

रेफर गरिएका आमा–शिशुको प्रतिष्ठानमा निःशुल्क उपचार तथा स्याहार हुने व्यवस्था गरिएको छ । उनीहरूलाई लिन प्रतिष्ठानको गाडी नै हुम्ला पुगेको थियो । गाउँपालिकामा अझै केही कुपोषित शिशु रहेका र उनीहरूलाई पनि उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको जनाइएको छ । स्थानीय तहले समन्वय गरेर थप बालबालिकालाई समयमै उपचारमा ल्याउने प्रयास गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार