सल्यान । वनगाढ कुपिन्डे नगरपालिका ले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यसहित विषयगत शिक्षक क्षमता विकास तालिम सञ्चालन गरेको छ । नगरपालिकाले अङ्ग्रेजी, गणित र विज्ञान विषय अध्यापन गराउने शिक्षकका लागि पाँचदिने विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको जनाएको छ । तालिममार्फत शिक्षकलाई आधुनिक शिक्षण विधि, विद्यार्थीमैत्री कक्षा सञ्चालन, विषयवस्तुलाई व्यवहारिक र कथामूलक शैलीमा प्रस्तुत गर्ने तरिकाबारे प्रशिक्षण दिइएको छ । सहभागी शिक्षकहरूले तालिमले कक्षाकोठामा शिक्षण सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
गणित शिक्षक सन्तोष शर्मा ले तालिमबाट कठिन विषयलाई सरल र रोचक तरिकाले विद्यार्थीसमक्ष प्रस्तुत गर्ने सीप हासिल भएको बताए । उनका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यवहारिक उदाहरण र कथा वस्तुसँग जोडेर पढाउने विधि सिक्न पाउँदा विद्यार्थीको सिकाइ उपलब्धिमा सुधार ल्याउन सहज हुने अपेक्षा गरिएको छ । उहाँले शिक्षकलाई समय–समयमा यस्ता व्यावसायिक तालिम उपलब्ध गराउनु सकारात्मक कदम भएको धारणा राखे । नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी ले शिक्षा क्षेत्रलाई पालिकाको प्रमुख प्राथमिकतामा राखेर विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाइएको जानकारी दिए ।
उनले सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास बढाउन शिक्षण पद्धति, भौतिक पूर्वाधार र प्रविधिमैत्री वातावरण विकासमा जोड दिइएको उल्लेख गरे । नगरपालिकाको शिक्षा शाखाका वरिष्ठ शिक्षा अधिकृत टीकाराम आचार्य ले यस आर्थिक वर्षभित्र शिक्षक क्षमता अभिवृद्धि, अभिभावकसँग अन्तरक्रिया, विद्यालय व्यवस्थापन सुदृढीकरण तथा प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार सम्बन्धी कार्यक्रम सञ्चालन गरिने बताए । उनका अनुसार विद्यालय सञ्चालनलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानाध्यापक तथा लेखापालका लागि व्यवस्थापन तालिमसमेत सञ्चालन गरिनेछ ।
त्यसैगरी सूचना प्रविधि (आईटी) स्रोत शिक्षक क्षमता विकास कार्यक्रममार्फत शिक्षकलाई डिजिटल माध्यम प्रयोग गरी अध्यापन गर्न सक्षम बनाउने योजना अघि सारिएको छ । पालिकाले प्रत्येक विद्यालयमा ई–हाजिरी प्रणाली लागू गर्ने तयारी गरेको छ, जसबाट विद्यार्थी र शिक्षकको नियमित उपस्थितिको अभिलेख व्यवस्थित हुने अपेक्षा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत गोकर्ण पन्थी का अनुसार यही महिनाभित्र १६ वटा विद्यालयलाई कम्प्युटर र प्रिन्टर सेट उपलब्ध गराइनेछ भने १३ वटा विद्यालयमा सौर्य ऊर्जा (सोलार) प्रणाली जडान गरिने तयारी गरिएको छ ।
विद्युत् पहुँच कमजोर भएका विद्यालयमा सोलार प्रणाली जडान भएपछि प्रविधिमैत्री शिक्षण क्रियाकलाप सञ्चालन गर्न सहज हुने विश्वास लिइएको छ । नगरपालिकाले शिक्षामा प्रविधिको प्रयोग बढाउँदै शिक्षकको क्षमता विकास, विद्यालय व्यवस्थापन सुधार र भौतिक पूर्वाधार विस्तारलाई एकसाथ अघि बढाएको जनाएको छ । स्थानीय तहको यस पहलले सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्न तथा विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।









