हुम्ला । चीनसँग सीमा जोडिएको हिल्सा नाका बाट हुने आयात–निर्यात व्यापार पुनः सञ्चालनमा आएको छ। केही दिनदेखि बन्द रहेको व्यापारिक गतिविधि बिहीबारदेखि नियमित भएपछि सीमावर्ती क्षेत्रमा आर्थिक गतिविधि फेरि सक्रिय बनेको छ । चीनको तिब्बतस्थित ताक्लाकोट क्षेत्रमा मे दिवसको अवसरमा सार्वजनिक बिदा परेका कारण नाकाबाट सामान आयात रोकिएको थियो । गत शनिबारदेखि बुधबारसम्म चीनतर्फबाट कुनै पनि व्यापारिक सामान नेपाल भित्रिन पाएको थिएन । बिदाको अवधिमा चीन सरकारले सीमावर्ती व्यापारिक गतिविधिमा अस्थायी रोक लगाएपछि हिल्सा नाका सुनसान बनेको थियो । स्थानीय व्यापारी, ढुवानी व्यवसायी तथा सर्वसाधारणले दैनिक उपभोग्य सामग्रीको आपूर्ति प्रभावित भएको बताएका थिए ।
यारी नाका भन्सार कार्यालय का प्रमुख रामराज जैसी ले चीनतर्फको बिदा समाप्त भएसँगै बिहीबारदेखि पुनः सामान आयात सुरु भएको जानकारी दिए । उनका अनुसार अहिले ताक्लाकोटबाट खाद्यान्न, लत्ताकपडा, निर्माण सामग्री, इलेक्ट्रोनिक सामान तथा दैनिक उपभोग्य वस्तुहरू नेपाल भित्रिन थालेका छन् । उनले भने मे दिवसका कारण केही दिन नाका पूर्ण रूपमा प्रभावित भएको थियो । अहिले पुनः व्यापारिक गतिविधि सञ्चालनमा आएकाले बजार आपूर्ति सहज बन्दै गएको छ । सामान आयात बन्द हुँदा भन्सार राजस्व संकलनमा समेत असर परेको थियो । व्यापार रोकिएपछि केही दिनसम्म भन्सार कार्यालयमा राजस्व संकलन हुन सकेको थिएन । यद्यपि मानिसहरूको आवतजावत भने पूर्ण रूपमा बन्द गरिएको थिएन ।
सीमावर्ती क्षेत्रका नागरिकलाई आवतजावत गर्न अनुमति दिइएको भए पनि कुनै पनि प्रकारका सामान ओसारपसारमा रोक लगाइएको थियो । चार महिनापछि पुनः सञ्चालनमा आएको यारी नाका भन्सार कार्यालयले सञ्चालनको पहिलो पाँच दिनमै १४ हजार रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ । अब व्यापार नियमित भएसँगै राजस्व संकलनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । भन्सार कार्यालयका अनुसार आगामी दिनमा चीनबाट आउने सामानको मात्रा बढ्दै गए राजस्वमा पनि सकारात्मक प्रभाव पर्नेछ । स्थानीय व्यापारीहरूले हिल्सा नाका सञ्चालन भएपछि बजारमा देखिएको उपभोग्य वस्तुको अभाव हट्ने विश्वास व्यक्त गरेका छन् । केही दिन व्यापार बन्द हुँदा खाद्यान्न, लत्ताकपडा तथा निर्माण सामग्रीको आपूर्ति प्रभावित भएको थियो। ढुवानीमा अवरोध हुँदा व्यापारीले आर्थिक क्षतिसमेत बेहोर्नुपरेको बताएका छन् ।
हिल्सा नाका कर्णाली प्रदेशको उत्तरी क्षेत्रमा चीनसँग व्यापार गर्ने प्रमुख नाका मानिन्छ । विशेष गरी हुम्लाका स्थानीय बासिन्दा दैनिक आवश्यक सामग्रीका लागि ताक्लाकोट बजारमा निर्भर रहने गरेका छन् । यस नाकामार्फत वर्षेनि ठूलो परिमाणमा खाद्यान्न, लत्ताकपडा, जुत्ता–चप्पल, इलेक्ट्रोनिक सामग्री तथा निर्माण सामग्री आयात हुँदै आएको छ । स्थानीय सरोकारवालाले नाका सञ्चालनलाई अझ व्यवस्थित र दीर्घकालीन बनाउन दुवै देशबीच नियमित समन्वय आवश्यक रहेको बताएका छन् । सीमावर्ती व्यापारलाई सहज बनाउन पूर्वाधार सुधार, भन्सार व्यवस्थापन सुदृढीकरण तथा यातायात पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । व्यापार पुनः सञ्चालनसँगै हुम्लाको उत्तरी क्षेत्रको आर्थिक गतिविधि चलायमान बन्नुका साथै स्थानीय बजारमा उपभोग्य सामग्रीको आपूर्ति सहज हुने अपेक्षा गरिएको छ ।









