वीरेन्द्रनगर । देशका विभिन्न स्थानमा अव्यवस्थित बस्ती हटाउने अभियान तीव्र बनेसँगै सुर्खेतका सुकुमबासी समुदायले विरोध प्रदर्शन गरेका छन्। शुक्रबार दिउँसो मंगलगढी चौक मा भेला भएका स्थानीय सुकुमबासीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै आफ्नो बसोबास अधिकार सुरक्षित गर्न माग गरेका हुन् । प्रदर्शनकारीहरूले “डोजर आतंक बन्द गर”, “भूमिहीन सुकुमबासीको उठीबास गर्न पाइँदैन”, “हाम्रो भूमि, हाम्रो अधिकार” तथा “स्थायी बसोबासको ग्यारेन्टी गर” जस्ता नारासहित विरोध जनाएका थिए ।
उनीहरूले वर्षौंदेखि बसोबास गर्दै आएको स्थानमा उचित विकल्प नदिई हटाउने प्रयास अन्यायपूर्ण भएको बताएका छन् । प्रदर्शनमा सहभागीहरूले आफूहरूको व्यवस्थापन नगरी बलपूर्वक हटाउने नीति स्वीकार्य नहुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार सरकारले बसोबासको समस्या समाधान गर्न संवाद र सहकार्यको बाटो अपनाउनुपर्ने आवश्यकता छ । सुकुमबासी समुदायले सुरक्षित आवास, वैकल्पिक व्यवस्थापन तथा स्थायी बसोबासको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।
उनीहरूले दीर्घकालीन समाधानबिना सञ्चालन गरिने डोजर अभियानले हजारौँ परिवार विस्थापित हुने जोखिम रहेको बताएका छन् । प्रदर्शनकारीहरूले भूमि तथा आवाससम्बन्धी समस्यालाई मानवअधिकार र सामाजिक न्यायसँग जोडेर हेर्नुपर्ने धारणा राख्दै सरकारलाई संवेदनशील बन्न आग्रह गरेका छन् ।









