हुम्ला । हुम्लाको हिल्सा नाकाबाट नेपाल भित्रिने चिनियाँ मदिरा यस वर्षदेखि रोकिएको छ । नेपाली सुरक्षा निकायको आग्रहपछि चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट मदिरा नेपालतर्फ नपठाउने सहमति जनाएका हुन् । सशस्त्र प्रहरी बल नेपाल, बिओपी हिल्साका सशस्त्र प्रहरी निरीक्षक कृष्ण दाहालका अनुसार हिल्सा नाकाबाट वर्षेनी लुकिछिपी रूपमा ठूलो परिमाणमा चिनियाँ मदिरा नेपाल भित्रिने गरेको थियो । यसको विरोध बढ्दै गएपछि हिल्सामा कार्यरत सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा चिनियाँ पक्षसँग मदिरा रोक्न औपचारिक अनुरोध गरेका थिए ।
उक्त अनुरोधलाई स्वीकार गर्दै चिनियाँ सुरक्षाकर्मीले ताक्लाकोटबाट मदिरा नपठाउने निर्णय गरेपछि हाल हिल्सा नाकाबाट मदिरा भित्रिन पूर्ण रूपमा बन्द भएको सुरक्षा निकायले जनाएको छ । यसअघि भने चिनियाँ पक्षबाट मदिरा सहज रूपमा नेपाल पठाइने गरेको बताइएको छ । स्थानीयवासीका अनुसार मदिरा भित्रिन रोकिएसँगै हिल्सा क्षेत्रमा हुने विवाद तथा झैझगडामा समेत कमी आएको छ ।
स्थानीयको दाबीअनुसार विगतमा वार्षिक करिब २० करोड रुपैयाँ बराबरको चिनियाँ मदिरा अवैध रूपमा नेपाल भित्रिने गरेको थियो । यसअघि केही सुरक्षाकर्मीको मिलेमतोमा मदिरा नेपाल ल्याइने गरेको आरोप समेत लाग्दै आएको थियो । सुराकीका आधारमा प्रहरीले बेला–बेला मदिरा बरामद गर्ने गरेको जानकारी पनि दिइएको छ ।









