दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकामा सञ्चालन गरिएको शारीरिक अपांगता परीक्षण घुम्ती शिविरमार्फत एक सय छ जनाले निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्राप्त गरेका छन् । अपांग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र, बनेपा र कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रको आयोजनामा तथा डुङ्गेश्वर गाउँपालिकाको समन्वयमा शिविर सञ्चालन गरिएको हो । शिविरमा बीएनबी हस्पिटल, सोसेक नेपाल र एभरेष्ट क्लब दैलेखले सहकार्य गरेका थिए । स्वास्थ्य शाखा प्रमुख लछमन खत्रीका अनुसार शिविरमा आगोले पोलेर अंग टाँसिएका, हड्डी बांगिएका, जोर्नी तथा घुँडामा समस्या भएका, ढाड बांगिएको, कुप्रो, जोर्नी दुख्ने तथा सुन्निने समस्या भएका व्यक्तिहरूको विस्तृत परीक्षण गरिएको थियो ।
त्यस्तै हड्डी पाकेर दीर्घ समस्या भएका, औँला टाँसिएका वा बढी भएका, कृत्रिम हातखुट्टाको आवश्यकता भएका तथा ओठ–तालु फाटेका बिरामीहरूको पनि परीक्षण गरिएको उनले जानकारी दिए । शिविरमा नाक, कान तथा घाँटी सम्बन्धी समस्या भएका २७ जनाको परीक्षण गरिएको छ भने १० जनालाई मनोसामाजिक परामर्श सेवा प्रदान गरिएको छ । कर्णाली प्रदेश पुनर्स्थापना केन्द्रका होमराज केसीका अनुसार आठ जना अपांगता भएका व्यक्तिलाई बैसाखी, ह्विलचियर, स्टिक, वाकर, लौरो र एल्बो क्रचलगायत सहायक सामग्री निःशुल्क वितरण गरिएको छ ।
त्यसैगरी छ जना अपांगता भएका बालबालिका तथा थप उपचार आवश्यक भएका नाै जनालाई सुर्खेत रिफर गरिएको उनले जानकारी दिए । शिविरमा सहभागी सेवाग्राहीलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुन्दरकुमार के.सी.ले अपांगता भएका व्यक्तिहरूको उपचार, पहिचान र पुनर्स्थापनामा स्थानीय सरकार प्रतिबद्ध रहेको बताए । उपाध्यक्ष कलावती न्यौपानेले आर्थिक अभाव र टाढा जानुपर्ने बाध्यता कम गर्न गाउँमै विशेषज्ञ सेवा उपलब्ध गराइएको बताए । गाउँमै विशेषज्ञ सेवा पाएपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । डुङ्गेश्वर–३ की पुनम मल्लले आर्थिक अभाव र सेवा पहुँचको समस्याका कारण उपचार कठिन भइरहेको अवस्थामा गाउँमै सेवा पाउँदा ठूलो राहत मिलेको बताए ।








