२०८३ वैशाख २९ , मंगलबार

ब्युटाक्लोर विरुद्ध अभियान



जुम्ला ।   तातोपानी गाउँपालिका ले मार्सीधान खेतीमा प्रयोग हुँदै आएको झारनासक विषादी ‘ब्युटाक्लोर’ नियन्त्रण गर्न एक महिने अभियान सुरु गरेको छ । धान रोपाइँ सुरु हुनुअघि नै लुकिछिपी विषादी प्रयोग बढ्न थालेपछि गाउँपालिकाले सोमबारदेखि जेठ २८ गतेसम्म सञ्चालन हुने अभियान सुरु गरेको हो । अभियानअन्तर्गत वडा नं. एक देखि आठ सम्मका मार्सीधान उत्पादन हुने खेत र गाउँबस्तीमा पुगेर किसानलाई सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिकाले किर्डाक, सहयात्रा तेस्रो परियोजना, लक परियोजना, रेरास तथा लिर्वडलगायत संस्थासँग सहकार्य गरेर कार्ययोजना तयार पारेको जनाएको छ ।

अभियानको उद्घाटन प्रमुख जिल्ला अधिकारी दीपक पौडेल ले गरेका थिय । कार्यक्रममा सहभागी राजनीतिक दल, किसान तथा नागरिक अगुवाले ब्युटाक्लोर प्रयोग नगर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् । जुम्लामा पहिलो पटक मार्सीधान खेती तातोपानी गाउँपालिका बाट सुरु भएको मानिन्छ। ‘गुरु फोक्टो’ नामले परिचित खेतलाई जिल्लाको पहिलो धानखेती क्षेत्रका रूपमा चिनिन्छ । हाल जिल्लाभर २८ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ, जहाँ वार्षिक पाँच हजार नाै सय ८७ मेट्रिकटन उत्पादन हुने गरेको छ ।

जिल्लाको औसतभन्दा तातोपानीमा धान उत्पादन बढी रहेको तथ्यांक छ । जिल्लाको उत्पादकत्व २.०७ प्रतिशत हुँदा तातोपानीको उत्पादकत्व ३.०२ प्रतिशत रहेको छ । गाउँपालिकाको ९३.१३ हेक्टर क्षेत्रफलमा वार्षिक दुई सय ८१ मेट्रिकटन धान उत्पादन हुने गरेको छ । कृषि शाखा प्रमुख प्रेमकृष्ण उपाध्याय ले ब्युटाक्लोर प्रयोगले माटोको उर्वराशक्ति घट्नुका साथै मानव स्वास्थ्य र पशुचौपायामा गम्भीर असर पर्ने भएकाले यसको प्रयोग अन्त्य गर्न अभियान सञ्चालन गरिएको बताए । उनका अनुसार एक महिनासम्म किसानका खेत–खेतमा पुगेर जनचेतना कार्यक्रम गरिनेछ ।

प्रमुख जिल्ला अधिकारी पौडेलले रसायनिक विषादी प्रयोग रोक्न स्थानीय तहले कानुनी व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याए । जुम्लाको मार्सीधानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्य पाइरहेकाले गुणस्तरीय र अर्गानिक उत्पादनमा जोड दिनुपर्ने उनकाे भनाइ थियो । गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाँई ले बढ्दो ब्युटाक्लोर प्रयोगका कारण उत्पादन घट्नुका साथै मानव स्वास्थ्यमा गम्भीर असर परेको बताए । उनका अनुसार पालिकाले हालसम्म ३१ जना महिलाको उपचारका लागि सिफारिस दिएको छ, जसमध्ये २२ जनामा पाठेघर क्यान्सर देखिएको छ । “धानमा प्रयोग हुने विषादी नै यसको मुख्य कारण हुनसक्ने देखिएकाले अभियान सुरु गरेका हौँ,” उनले भने ।

गत वर्ष ब्युटाक्लोर प्रयोग गर्ने चार जनालाई कारबाही गरिएको स्मरण गराउँदै उनले  यस वर्ष लुकिछिपी प्रयोग गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए । कार्यक्रममा सहभागी किसान तथा सरोकारवालाले जुम्लाको अर्गानिक पहिचान जोगाउन रसायनिक विषादी प्रयोग पूर्ण रूपमा रोक्नुपर्नेमा जोड दिएका थिए । कृषि विज्ञहरूले जैविक विषादी उत्पादन, किसान सचेतना, लेबलिङ, प्याकेजिङ तथा बजार व्यवस्थापनमा ध्यान दिन सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २९ गते मंगलबार