सुर्खेत । सुर्खेतस्थित होराइजन एकेडेमीले एसईई परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गर्दै निःशुल्क “करियर बुट क्याम्प” आयोजना गर्ने भएको छ। कार्यक्रम यहि जेठ ३ गते आइतबार हुने विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक अशोकराज खातीका अनुसार एसईईपछि विद्यार्थीहरूले सही शैक्षिक तथा पेशागत मार्ग छनोट गर्न सहज होस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यो करियर बुट क्याम्पमा कर्णाली प्रदेशभरिका एसईई उत्तीर्ण विद्यार्थीहरू तथा उनीहरूका अभिभावकहरू सहभागी हुन सक्नेछन् । कार्यक्रममा करियर सम्बन्धी परामर्श, मार्गदर्शन तथा विभिन्न अनुभव आदानप्रदान गरिनेछ । हाल विद्यार्थीहरूमा “कुन विषय रोज्ने र “भविष्यका लागि उपयुक्त करियर कसरी छनोट गर्ने?” जस्ता प्रश्नहरू बढ्दै गइरहेका बेला, यो कार्यक्रमले स्पष्ट दिशा दिन सहयोग गर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रमलाई कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयअन्तर्गतको वृत्ति मार्गनिर्देशन सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने जनाएको छ ।आयोजकका अनुसार यो बुट क्याम्पले विद्यार्थीहरूलाई आफ्नो रुचि र क्षमताअनुसार सही शैक्षिक तथा करियर निर्णय लिन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।









