सुर्खेत । कालिकोट पचालझरना गाउँपालिका वडा नं. ४ स्थित संघर्षशिल महिला सहकारी कृषि संस्थाले वर्षौंदेखि बाँझो रहेको निगालदाउरा र पुरानो धारा आसपासको जग्गामा १००० बुट्टा ओखर खेती गरेको छ ।

उक्त ओखर खेतीको गाउँपालिकाकी उपाध्यक्ष अल्किना बमले अनुगमन गरेकी छन् । अनुगमनका क्रममा उनले ओखर खेतीले कृषकहरूलाई उत्पादनमा नयाँ सम्भावना दिने बताउँदै यसलाई दीर्घकालीन रूपमा व्यवसायिक खेतीका रूपमा विकास गर्न सके वडा तथा गाउँपालिकाको आर्थिक विकासमा टेवा पुग्ने बताएकी छन् ।
उनले बाँझो जमिनको सदुपयोग गर्दै महिलाहरूले सामूहिक रूपमा सुरु गरेको खेती उदाहरणीय भएको बताउँदै स्थानीय सरकारबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने समेत बताइन् ।
सोही वडाकी वडा सदस्य होइजाली सेजुवालले सुरुमा ओखर खेती सफल हुन्छ कि हुँदैन भन्ने अन्योल रहे पनि अहिले बिरुवाहरू राम्रोसँग हुर्किरहेको देख्दा आफू निकै खुसी भएको बताइन् ।
“वर्षौंदेखि बाँझो रहेको जमिनमा यस्तो खेती सम्भव हुन्छ भन्ने विश्वास कम थियो, तर अहिले राम्रो परिणाम देखिन थालेपछि स्थानीयहरू पनि उत्साहित भएका छन्,” उनले भनिन् ।
ओखर खेतीको अनुगमनमा जिल्ला कृषि कार्यालय प्रमुख चन्द्र बहादुर शाही, बाली संरक्षण अधिकृत दिवाकर पन्त तथा इन्जिनियर बिरेन्द्र अधिकारी लगायतको सहभागिता रहेको थियो ।








