२०८३ वैशाख ३० , बुधबार

अवैध चिनियाँ मदिरा नष्ट



हुम्ला ।  जिल्लाका विभिन्न स्थानबाट बरामद गरिएको ठूलो परिमाणको अवैध चिनियाँ मदिरा प्रहरीले नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला र मातहतका प्रहरी चौकीहरूले बरामद गरेको उक्त मदिरा लामो समयसम्म कानुनी प्रक्रियामा रहेपछि अन्ततः सरोकारवाला निकायहरूको उपस्थितिमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काका अनुसार करिब २२ लाख ८८ हजार रुपियाँ बराबरको चिनियाँ मदिरा जिल्ला प्रहरी कार्यालयको परिसरमै नष्ट गरिएको हो । अवैध रूपमा नेपाल भित्रिएको मदिरा बेवारिसे अवस्थामा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार गत वर्ष कात्तिक ११ गते नाम्खा गाउँपालिका दुई स्थित ढाँडकेर्मी क्षेत्रबाट तिन सय ५१ कार्टुन चिनियाँ मदिरा बरामद गरिएको थियो । त्यसको केही दिनपछि कात्तिक २२ गते जिल्लाका अन्य विभिन्न स्थानबाट थप २७ कार्टुन मदिरा फेला परेको थियो । यसरी दुई चरणमा गरी कुल तिन सय ७८ कार्टुन मदिरा बरामद भएको प्रहरीले जनाएको छ । एक कार्टुनमा १२ बोतल मदिरा रहने भएकाले कुल ४ हजार पाँच सय ३६ बोतल मदिरा बरामद गरिएको थियो । प्रहरीका अनुसार एक बोतलको बजार मूल्य करिब पाँच सय रुपियाँ पर्ने र ती मदिरा अवैध रूपमा जिल्लाभित्र बिक्री–वितरण हुँदै आएको आशंका गरिएको छ ।

बरामद मदिरा लामो समयसम्म जिल्ला प्रहरी कार्यालयको परिसरमा सुरक्षित राखिएको थियो । कानुनी प्रक्रिया पूरा गर्न तथा सम्बन्धित व्यक्तिको पहिचान गर्न समय लागेकाले मदिरा नष्ट गर्न ढिलाइ भएको प्रहरीको भनाइ छ । प्रहरीले मदिराका वास्तविक धनीको खोजीका लागि विभिन्न प्रयास गरे पनि हालसम्म कोही पनि सम्पर्कमा नआएको जनाएको छ । हुम्लाको उत्तरी नाका हुँदै अवैध रूपमा चिनियाँ सामान तथा मदिरा भित्रिने क्रम विगतदेखि नै चुनौतीका रूपमा रहँदै आएको छ । विशेषगरी नाम्खा गाउँपालिकाको हिल्सा नाका र चङ्खेली गाउँपालिका–पाँचको टाँके नाकाबाट प्रत्येक वर्ष यस्ता मदिरा बरामद हुने गरेको प्रहरी स्रोतले जनाएको छ ।

यस वर्ष भने हिल्सा नाकाबाट अवैध मदिरा नेपाल भित्रिन नदिन नेपाल र चिनियाँ सुरक्षा निकायबीच समन्वय तथा सहकार्य बढाइएको बताइएको छ । सीमा क्षेत्रमा निगरानी कडा बनाउने र अवैध गतिविधि नियन्त्रण गर्ने विषयमा दुवै देशका सुरक्षा निकायबीच सहमति भएको जनाइएको छ । मदिरा नष्ट गर्ने कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्द, अनुसन्धान प्रमुख मेघराज कँडेल, कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख अंगबहादुर कार्कीलगायत विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । प्रहरीले जिल्लामा अवैध कारोबार नियन्त्रणका लागि निगरानी अझ कडा बनाइने जनाएको छ । साथै, सीमावर्ती क्षेत्र हुँदै हुने अवैध आयात तथा बिक्री–वितरण रोक्न स्थानीयवासीलाई समेत सचेत र जिम्मेवार बन्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार