मुगु । नेपालको प्रसिद्ध पर्यटकीय गन्तव्य रारा तालमा आयोजित छैटौँ संस्करणको रारा ट्रेल रन प्रतियोगिताको उपाधि जुम्लाका धावक दलबहादुर कुँवर र धाविका सुनमाया बुढाले जित्न सफल भएका छन् । नेपाली सेनाको आयोजनामा सम्पन्न प्रतियोगिताले यस वर्ष पनि खेल पर्यटन प्रवर्द्धनसँगै कर्णालीको प्राकृतिक सौन्दर्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने प्रयासलाई निरन्तरता दिएको छ । पुरुषतर्फ जुम्ला तातोपानी गाउँपालिका सातका दलबहादुर कुँवरले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारे । उनले १६ किलोमिटर दूरी एक घण्टा पाँच मिनेटमा पूरा गर्दै तिन सय ६० प्रतिस्पर्धीलाई पछि पारेका हुन् । त्यस्तै जुम्ला कनकासुन्दरी गाउँपालिका तिन का युवकराज बुढा एक घण्टा सात मिनेटमा दूरी पार गर्दै दोस्रो स्थानमा रहे भने मुगुको छायाँनाथ रारा नगरपालिका १४ का अक्कल बढुवालले एक घण्टा १२ मिनेट ४४ सेकेन्डमा दौड पूरा गरी तेस्रो स्थान हासिल गरे ।
महिलातर्फ जुम्ला पातारासी गाउँपालिका दुईकी सुनमाया बुढाले १६ किलोमिटर दूरी एक घण्टा १३ मिनेट १८ सेकेन्डमा पार गर्दै प्रथम स्थान हासिल गरिन् । उनले ४५ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् । सोही गाउँपालिकाकी राममाया बुढा एक घण्टा १५ मिनेट ३५ सेकेन्डमा दोस्रो भइन् भने डोल्पाको भेरी नगरपालिका पाँचकी सुनसरी रोकायाले एक घण्टा १७ मिनेट ४६ सेकेन्डमा दौड पूरा गर्दै तेस्रो स्थान सुरक्षित गरिन् । नेपाली सेना हनुमानध्वज गुल्मको आयोजनामा बुधबार सम्पन्न प्रतियोगितामा महिलातर्फ ४६ र पुरुषतर्फ तिन सय ६१ गरी कुल चार सय सात खेलाडी सहभागी भएका थिए। प्रतियोगिता रारा ताल आसपासको कठिन तथा रमणीय भूभागमा सञ्चालन गरिएको थियो, जसले खेलाडीहरूलाई चुनौतीपूर्ण अनुभव प्रदान गरेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने महिला तथा पुरुष खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपियाँ नगदसहित प्रमाणपत्र तथा ट्रफी प्रदान गरिएको थियो । विजेता खेलाडीहरूलाई मुगुका प्रमुख जिल्ला अधिकारी खडानन्द खत्री, नेपाली सेना उत्तरपश्चिम पृतनाका उपरथी अनुपजङ्ग थापा तथा हनुमानध्वज गुल्मका गुल्मपति खड्कबहादुर श्रेष्ठलगायतले पुरस्कार वितरण गरेका थिए । रारा ट्रेल रन केवल खेल प्रतियोगिता मात्र नभई कर्णाली प्रदेशको पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्वपूर्ण कार्यक्रमका रूपमा स्थापित हुँदै गएको छ । राराको प्राकृतिक सुन्दरता, हिमाली वातावरण र चुनौतीपूर्ण भूगोलले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने भएकाले खेल पर्यटनको माध्यमबाट यस क्षेत्रलाई थप चिनाउने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ ।
हनुमानध्वज गुल्मका गुल्मपति खड्कबहादुर श्रेष्ठका अनुसार रारा ट्रेल रनले कर्णाली केवल प्राकृतिक सम्पदाले भरिएको क्षेत्र मात्र नभई खेलकुदका लागि पनि सम्भावनायुक्त भूमि भएको सन्देश फैलाइरहेको छ । “राराको पर्यटन प्रवर्द्धनसँगै नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले हरेक वर्ष यो प्रतियोगिता आयोजना गर्दै आएको छ,” उनले बताए । स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउन, युवाहरूलाई खेलतर्फ आकर्षित गर्न तथा कर्णालीको पर्यटनलाई राष्ट्रिय स्तरमा प्रचार गर्न रारा ट्रेल रन प्रभावकारी बन्दै गएको आयोजकहरूको भनाइ छ ।









