२०८३ वैशाख ३० , बुधबार

कर्णालीका सबै पालिकामा स्काउट विस्तार गरिने



सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी एक वर्षभित्र प्रदेशका सबै पालिकामा नेपाल स्काउटको संरचना विस्तार गर्ने योजना अघि सारेको छ ।  वीरेन्द्रनगरमा आयोजित ‘शान्ति र सुरक्षा’ विषयक प्रदेशस्तरीय कार्यक्रममा सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले स्काउटलाई विद्यालयस्तरसम्म विस्तार गरेर विद्यार्थीलाई उत्पादनमुखी र स्वयम्सेवी गतिविधिसँग जोड्ने तयारी भइरहेको बताए । मन्त्री भण्डारीले बालविवाह, जातीय विभेद, छुवाछुत र लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति न्यूनीकरणमा स्काउटले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

उनले विगतमा स्काउट गतिविधिमा पर्याप्त ध्यान पुग्न नसकेको स्वीकार गर्दै अब सरकारबाट उच्च प्राथमिकता दिइने प्रतिबद्धता जनाए । कर्णाली प्रदेश प्रमुख आयुक्त कमल बोहराले ‘एक घर, एक स्काउट’ अभियान सञ्चालनमा बजेट र स्रोतको अभाव रहेको बताउँदै सरकारी सहयोग आवश्यक रहेको उल्लेख गरे ।

स्काउट लिडर प्रतिमा सिल्वालले पनि स्काउटले लागुपदार्थ दुर्व्यसन नियन्त्रण र सामाजिक जागरणमा योगदान दिइरहेको भन्दै संस्थागत विकासका लागि सरकारको साथ आवश्यक रहेको बताए । फिनल्याण्ड–नेपाल साझेदारी परियोजना अन्तर्गत आयोजित कार्यक्रममा कर्णालीका आठ जिल्लाका ६० जना स्काउट मास्टर तथा प्रशिक्षार्थी सहभागी छन् । कार्यक्रममा प्रशिक्षक क्धय कृति भट्टराई र सोनु भण्डारीले स्काउटिङ सम्बन्धी प्रशिक्षण दिइरहेकी छन् ।

प्रकाशित मिति : २०८३ वैशाख ३० गते बुधबार