कालीकोट । जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नरहरीनाथ गाउँपालिका उत्कृष्ट पालिकाको रूपमा स्थापित भएको छ । गाउँपालिकाबाट परीक्षामा सहभागी तिन सय ९३ विद्यार्थीमध्ये तिन सय नाै जना अर्थात् ८४ दशमलव ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएपछि नरहरीनाथ जिल्लामै पहिलो बनेको हो । भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि शिक्षक र विद्यार्थीको मेहनतले राम्रो नतिजा सम्भव हुने उदाहरण नरहरीनाथका विद्यालयहरूले प्रस्तुत गरेका छन् । पहिरोको उच्च जोखिममा रहेका रमा माध्यमिक विद्यालय र विश्वकुना माध्यमिक विद्यालय बाट एसइई दिएका सबै विद्यार्थी उत्तीर्ण भएपछि यी विद्यालयहरू जिल्लाभर चर्चामा आएका छन् ।
गत चैतमा परेको अविरल वर्षाले खेलमैदान भत्किनुका साथै विद्यालय भवनसमेत जोखिममा परेको रमा माध्यमिक विद्यालयबाट परीक्षामा सहभागी सबै ३९ विद्यार्थी ग्रेडेड भएका छन् । विद्यालयका प्रधानाध्यापक तपेन्द्र महताराले सबै विद्यार्थी सफल हुँदा गर्व लागेको प्रतिक्रिया दिए । । त्यस्तै, पहिरोका कारण कक्षाकोठा र खेलमैदानको अभाव झेलिरहेको विश्वकुना माध्यमिक विद्यालयबाट एसइई दिएका २१ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन् । शान्ति माध्यमिक विद्यालय बाट परीक्षा दिएका २८ विद्यार्थीमध्ये २२ जना उत्तीर्ण भएका छन् भने छ जना पूरक परीक्षामा परेका विद्यालय प्रशासनले जनाएको छ ।
दलित समुदायको बाहुल्य रहेको नन्दादेवी माध्यमिक विद्यालय बाट सहभागी १९ विद्यार्थीमध्ये १६ जना ग्रेडेड भएका छन् । विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य तथा वडाध्यक्ष पौराम विश्वकर्माका अनुसार विद्यालयले पहिलो पटक ८४ दशमलव २१ प्रतिशत नतिजा हासिल गरेको हो । यसैगरी, जनता माध्यमिक विद्यालय रुप्साबाट परीक्षा दिएका ६२ मध्ये ५९ जना, दीपेन्द्र माध्यमिक विद्यालय नयाँबस्तीका २० मध्ये १८ जना, जनप्रभात माध्यमिक विद्यालय लालुका ६१ मध्ये ५० जना, मंगलासैनी माध्यमिक विद्यालयका ४६ मध्ये ३४ जना तथा नन्दादेवी माध्यमिक विद्यालय कोटवाडाका ६८ मध्ये ५० जना विद्यार्थी उत्तीर्ण भएका छन् ।
यता, रुपादेवी माध्यमिक विद्यालय बाट परीक्षा दिएका २९ विद्यार्थीको नतिजा भने प्राविधिक कारणले अझै प्रकाशन हुन सकेको छैन । शिक्षा विकास तथा समन्वय इकाइ कालीकोटका अनुसार जिल्लाका नौवटै स्थानीय तहबाट नियमिततर्फ एसइईमा सहभागी ३ हजार १४ विद्यार्थीमध्ये दुई हजार दुई सय चार जना अर्थात् ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने आठ सय १० जना ननग्रेडेड भएका छन् । जिल्लामा तिन दशमलव ६० देखि ४ जीपीए ल्याउने ७६ जना, तिन दशमलव २० देखि तिन दशमलव ६० जीपीए ल्याउने चार सय एक जना, दुई दशमलव ८० देखि तिन दशमलव २० जीपीए ल्याउने नाै सय सात जना, दुई दशमलव ४० देखि दुई दशमलव ८० जीपीए ल्याउने सात सय ४३ जना तथा दुई देखि दुई दशमलव ४० जीपीए ल्याउने ७७ जना विद्यार्थी रहेका छन् ।









