हुम्ला । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँकी २२ वर्षीया चिनकली कामीलाई बिहीबार बिहान सुत्केरी अवस्थामै प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ । हाल वडा नं. ५ काठेचुली चोकमा डेरा गरी बस्दै आएकी कामी बाटोमै सुत्केरी भएकी थिइन् । आफन्तले प्रहरीलाई खबर गरेपछि प्रहरी निरीक्षक युवराज ढकालको नेतृत्वमा पुगेको टोलीले आमा र नवजात शिशुको उद्धार गरी जिल्ला अस्पताल हुम्ला मा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
प्रहरीका अनुसार उद्धार टोली घटनास्थल पुग्दा सुत्केरी महिलालाई घरबाहिर बाटोमै राखिएको अवस्थामा भेटिएको थियो । त्यसपछि प्रहरी टोलीले स्टेचरको सहायताले आमा र शिशुलाई बोकेर अस्पतालसम्म पुर्याएको हो । अस्पताल स्रोतका अनुसार आमा र नवजात शिशुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ भने उपचार जारी छ । स्थानीयवासीका अनुसार एम्बुलेन्सलाई खबर गर्दा समयमै सेवा नपाएपछि प्रहरीले नै प्रत्यक्ष रूपमा उद्धार गर्नुपरेको हो । आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा ढिलो हुने गरेको गुनासोसमेत स्थानीयले गरेका छन्









