सल्यान । कपुरकोट गाउँपालिका ले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १९औँ अधिवेशनमा गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, पशुपालन, उद्योग, सहकारी तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिए । प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ जस्ता आधारभूत क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ ।
साथै सांस्कृतिक संरक्षण तथा प्रवर्द्धन, गरिबी निवारण, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, सामाजिक सुरक्षा र सशक्तीकरणका विषयहरू पनि समेटिएका छन् । त्यसैगरी रोजगारी सिर्जना, सडक तथा पुल निर्माणलगायत भौतिक पूर्वाधार विकास, व्यवस्थित सहरीकरण, सञ्चार तथा सूचना प्रविधि र ऊर्जा क्षेत्रलाई समेत प्राथमिकतामा राखिएको छ । सिंचाइ, वन वातावरण संरक्षण तथा विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू पनि नीति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाले जनाएको छ ।
कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले प्रत्येक टोल विकास क्षेत्रमा “कृषि ज्ञान सञ्चार कार्यक्रम” सञ्चालनलाई निरन्तरता दिइने अध्यक्ष पुनले बताए । उनका अनुसार किसानहरूलाई कृषि सम्बन्धी प्राविधिक तथा व्यवहारिक सीप प्रदान गरी आधुनिक कृषि प्रणालीतर्फ आकर्षित गरिनेछ । अधिवेशनमा गाउँपालिका उपाध्यक्षले न्यायिक समितिको प्रगति विवरण प्रस्तुत गर्दै समितिले हालसम्म गरेका कार्य तथा उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा गाउँपालिकाका छ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । गाउँसभामा नीति तथा कार्यक्रममाथि व्यापक छलफलपछि सर्वसम्मत रूपमा पारित गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेलले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले समग्र विकास, सुशासन, प्रभावकारी सेवा प्रवाह तथा समृद्ध कपुरकोट निर्माणप्रति आफ्नो प्रतिबद्धता अझ सुदृढ बनाएको छ ।









