सुर्खेत । वीरेन्द्रनगर मा पहिलो पटक ‘प्रथम कर्णाली पर्यटन सम्मेलन’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिका को संयुक्त आयोजना तथा होटल व्यवसायी महासंघ कर्णाली प्रदेश को समन्वयमा आगामी जेठ आठ नाै र १० गते सम्मेलन सञ्चालन गरिने भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिका संयोजक तर्कबहादुर शाहीले कर्णालीलाई नेपालको उदीयमान पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार सम्मेलनले कर्णालीको पर्यटन विकास, प्रवर्द्धन तथा दीर्घकालीन सम्भावनालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अपेक्षा गरिएको छ । साथै पर्यटन प्रवर्द्धन, लगानी आकर्षण र व्यावसायिक सहकार्य विस्तारमा सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ । सम्मेलनमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै भारतका उत्तर प्रदेश, उत्तराखण्ड र दिल्लीबाट पर्यटन तथा आतिथ्य क्षेत्रसँग सम्बन्धित व्यवसायी, लगानीकर्ता, ट्राभल भ्लगर, सञ्चारकर्मी, ट्राभल एजेन्सी, टुर अपरेटर तथा होटल क्षेत्रका प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
कार्यक्रममार्फत भारतीय बजारसँग कर्णालीका पर्यटन प्याकेज तथा सेवाहरू प्रत्यक्ष रूपमा जोडिने अपेक्षा गरिएको छ । प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, धार्मिक सम्पदा तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको कर्णाली अझै विश्वसामु पर्याप्त रूपमा परिचित हुन नसकेको अवस्थामा सम्मेलनले त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।
सम्मेलनअन्तर्गत बि–टु–बि बैठक, नेटवर्किङ कार्यक्रम, पर्यटन गन्तव्य प्रस्तुति, प्रोपर्टी भिजिट, फ्याम ट्रिप, प्राविधिक छलफल, प्यानल डिस्कसन तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ । आयोजकका अनुसार सम्मेलन केवल औपचारिक छलफलमा सीमित नरही पर्यटन क्षेत्रका खरिदकर्ता र बिक्रेताबीच प्रत्यक्ष संवाद गराउने माध्यम बन्नेछ । यसले कर्णालीका होमस्टेदेखि ठूला होटलसम्म तथा रारा ताल देखि शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सम्मका पर्यटन प्याकेजलाई बजारसँग प्रत्यक्ष जोड्ने अपेक्षा गरिएको छ ।









