२०८३ वैशाख ३१ , बिहीबार

समन्वय पदाधिकारीको भेला डोल्पामा



डोल्पा । कर्णाली प्रदेशका १० जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा पदाधिकारीहरूको भेला सम्पन्न भएको छ । जिल्ला समन्वय समिति महासंघ नेपाल कर्णाली प्रदेशको समन्वयमा अन्तरसरकारी सम्बन्ध, सहकार्य तथा अनुभव आदानप्रदानका विषयमा छलफल गर्न पदाधिकारीहरू डोल्पामा भेला भएका हुन् । बुधबार त्रिपुरासुन्दरी नगरपालिका मा आयोजित कार्यक्रममा कर्णालीका १० वटै जिल्लाका समन्वय पदाधिकारीहरूको सहभागिता रहेको डोल्पाका प्रमुख श्याम रोकायले जानकारी दिए ।

उनका अनुसार जिल्लाका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई राष्ट्रिय स्तरमा चिनाउने र कर्णालीभित्रका जिल्लाबीच आपसी सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । प्रमुख रोकायले कर्णालीका जिल्लाहरूले एकअर्काको भूगोल, संस्कृति, जनजीवन र विकासका गतिविधिबारे पहिला आफैं जान्नुपर्ने आवश्यकता औँल्याए । उनले डोल्पाको वास्तविक अवस्था, यहाँको विकास प्रक्रिया तथा जनजीवनलाई नजिकबाट अवलोकन गराउने उद्देश्यले भेला डोल्पामा आयोजना गरिएको बताए । उनले विशेषगरी श्री वाला त्रिपुरासुन्दरी मन्दिर को धार्मिक तथा पर्यटकीय महत्व राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने लक्ष्यसमेत रहेको जानकारी दिए ।

कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका नगरप्रमुख जनचन्द्र रोकायले यस्ता भेलाले स्थानीय धार्मिक, जैविक तथा पुरातात्विक सम्पदाको प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भेलाले डोल्पाको विकासका मुद्दालाई थप सशक्त रूपमा उठाउन मद्दत पुग्ने अपेक्षा गरे । जिल्ला समन्वय समिति महासंघ कर्णाली प्रदेशका अध्यक्ष तथा मुगु जिल्ला का समन्वय प्रमुख मञ्जनबहादुर कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व संविधानसभा सदस्य दूधकुमारी हमाल प्रमुख अतिथिका रूपमा सहभागी भएकी छन् । भेलामा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबीच समन्वय, सहकार्य तथा अधिकार कार्यान्वयनका विषयमा समेत विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख ३१ गते बिहीबार