कालीकोट । भारत र चीनलाई सडक सञ्जालमार्फत जोड्ने रणनीतिक महत्वको कर्णाली करिडोर अन्तर्गत १२३ किलोमिटर सडक कालोपत्र तथा स्तरोन्नति गरिने भएको छ । कालीकोटको खुलालुदेखि हुम्लाको सल्ली सल्लासम्मको सडक खण्डलाई आधुनिक स्तरमा विकास गर्न बहुवर्षीय योजना अघि बढाइएको हो । कर्णाली करिडोर आयोजनाका अनुसार सडक ट्र्याक निर्माण सम्पन्न भइसकेपछि कालोपत्रका लागि बहुवर्षीय ठेक्का प्रक्रियामा सहमति जुटेको छ । खुलालु–कोट १३ किलोमिटर, भुक्काखोला–पिलुचौर १५ किलोमिटर तथा तुम्चा–सल्लीसल्ला १३ किलोमिटर सडक कालोपत्र गर्न करिब तिन अर्ब १५ करोड रुपैयाँ बराबरको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको थियो ।
आयोजना प्रमुख बिसुनदास लामाले आवश्यक स्रोत सुनिश्चित भइसकेको जानकारी दिँदै ४१ किलोमिटर सडकको ठेक्का प्रक्रिया छिट्टै अघि बढाइने बताए । खुलालु–सल्ली खण्डअन्तर्गत ३५ किलोमिटर ग्राभेल सडक स्तरोन्नति सम्पन्न भइसकेको छ भने पालाताको घाटाचौरदेखि भुक्काखोला सम्म १४ किलोमिटर क्षेत्रमा नेपाली सेनाले चट्टान फोड्ने कठिन कार्य सम्पन्न गरेको जनाएको छ । उक्त खण्डको प्राविधिक प्रतिवेदन प्राप्त भएपछि थप कालोपत्र र स्तरोन्नतिको काम अघि बढाइने तयारी गरिएको छ । यसअघि नै पिलुचौर–कुबाडी २३ किलोमिटर र कुबाडी–तुम्चा २७ किलोमिटर सडक खण्डमा कालोपत्रको काम सुरु भइसकेको छ ।
आयोजनाका अनुसार हालसम्म करिब १७ प्रतिशत भौतिक प्रगति भएको छ भने चालु आर्थिक वर्षमा मात्रै २४ करोड रुपैयाँ खर्च भइसकेको छ । करिडोर क्षेत्रमा आवश्यक १५ पुलमध्ये ९ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । बाँकी छ पुल निर्माणका लागि करिब ६२ करोड रुपैयाँ बजेट सुनिश्चित भइसकेको आयोजनाले जनाएको छ । कालीकोट–बाजुरा सीमाक्षेत्रका भुक्काखोला, सेराखोला, बाँधुखोला, तुसारेखोला, पैमाखोला र मकाखोलामा पुल निर्माणका लागि बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाइएको छ । चालु आर्थिक वर्षभित्रै पिलुचौर–कुबाडी खण्डको केही भागमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ ।








