२०८३ जेठ १ , शुक्रबार

तेस्रो पटक म्याद थप्दा पनि बनेन् अस्पताल, भुइँमै उपचार गर्न बाध्य



दैलेख ।  जिल्ला अस्पताल दैलेखको नयाँ भवन निर्माण कार्य निर्धारित समयभन्दा दुई वर्ष ढिलो हुँदा पनि सम्पन्न हुन सकेको छैन । पटक–पटक म्याद थपिए पनि निर्माणले अपेक्षित गति लिन नसक्दा ५० शय्याको सुविधा सम्पन्न अस्पताल भवन अझै अधुरै बनेको हो । २०७८ जेठ १० गतेदेखि निर्माण सुरु गरिएको भवन २०८१ जेठ ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म भौतिक प्रगति करिब ६८ प्रतिशतमा सीमित रहेको छ । १८ करोड २३ लाख रुपैयाँ लागतको उक्त भवन निर्माणको जिम्मा पाएको श्री प्रेरा/क्याराभान/सुपरस्टार जेभीले समयमै काम सम्पन्न गर्न नसकेपछि तेस्रो पटकसम्म म्याद थप गरिएको छ ।

हालको म्याद २०८३ भदौ मसान्तसम्म तोकिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापक डा. मनोज विश्वकर्माका अनुसार दोस्रो पटक थपिएको म्यादभित्र पनि काम सम्पन्न नभएपछि विभिन्न सरोकारवालासँग छलफल गरी तेस्रो पटक म्याद थप गरिएको हो । उनले निर्माण कम्पनीले काम गरिरहेको दाबी गरे पनि प्रगति निकै सुस्त रहेकाले थपिएको समयभित्रै भवन सम्पन्न हुनेमा आशंका रहेको बताए । उनका अनुसार निर्माण कम्पनीलाई पटक–पटक काम तीव्र बनाउन आग्रह गरिए पनि अपेक्षित सुधार हुन सकेको छैन ।

“यदि तेस्रो पटक थपिएको समयभित्र पनि भवन निर्माण पूरा भएन भने कार्यालय वैकल्पिक प्रक्रिया अपनाउन बाध्य हुनेछ,” उनले भने ।  निर्माण कार्य ढिलो हुँदा अस्पतालमा शय्या अभाव चुलिएको छ । हाल बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको अस्पताल प्रशासनले जनाएको छ । १५ शय्याको जिल्ला अस्पतालले अहिले ५१ शय्यासम्म सेवा दिँदै आएको छ । नयाँ भवन नबन्दा २०४२ सालमा बनेको पुरानो भवनमै कोचाकोच गरी सेवा सञ्चालन भइरहेको छ ।

निर्माण कम्पनीका प्रोप्राइटर तारा शाहीले कोरोना महामारी, रुख कटान, आर्थिक मन्दी तथा दक्ष जनशक्ति अभावका कारण निर्माण प्रभावित भएको बताए । उनले पछिल्लो समय काम जारी रहेको जानकारी दिँदै पुस मसान्तमा पेश गरिएको एक करोड १७ लाख रुपैयाँ बराबरको रनिङ बिल अझै भुक्तानी नभएको गुनासो गरे । निर्माण सामग्रीको मूल्य निरन्तर बढिरहेको भन्दै प्रदेश सरकारले सहजीकरण गर्नुपर्ने उनकाे भनाइ छ ।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार