जाजरकोट । जिल्लाका सात वटा स्थानीय तहमा कार्यरत विकास साझेदार तथा गैरसरकारी संस्थाले चालु आर्थिक वर्षमा ७७ करोड ८९ लाख रुपैयाँभन्दा बढी बजेट परिचालन गर्ने भएका छन् । क्षमता विकास, सिपमूलक तालिम, पूर्वाधार निर्माण तथा विपन्न समुदायको उत्थानका क्षेत्रमा उक्त बजेट खर्च गरिने जनाइएको छ । जिल्ला समन्वय समितिले आयोजना गरेको गैरसरकारी संस्था तथा विकास साझेदार निकायहरूको समीक्षा कार्यक्रममा १२ वटा संस्थाले आफ्नो वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका निर्देशक टेकबहादुर सुनारले सन् २०२६ सम्म गरिब, दलित, विपन्न तथा जोखिममा रहेका बालबालिकाको क्षेत्रमा ३० करोड रुपैयाँ बजेट परिचालन गरिने जानकारी दिए । उनका अनुसार ग्रामीण बस्तीका नागरिकलाई सशक्त बनाउने उद्देश्यले विभिन्न क्षमता विकास कार्यक्रम सञ्चालन भइरहेका छन् । भेरी, छेडागाड र नलगाड नगरपालिका तथा बारेकोट, जुनीचाँदे, कुसे र शिवालय गाउँपालिकामा विभिन्न संस्थाले सामाजिक तथा विकास निर्माणका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
ती संस्थामध्ये पाँचतारा युवा संरक्षक मञ्च, पहाडी क्षेत्र विकास अभियान, आरआरएन, सहास नेपाल, यार्सन नेपाल, राष्ट्रिय दलित समाज कल्याण सङ्घ, सोसेक नेपाल, आइएनएफ नेपाल, असल छिमेकी नेपाल, लिवर्ड, नेपाल राष्ट्रिय कल्याण सङ्घ र अपाङ्ग स्वावलम्बन संस्था रहेका छन् । सार्वजनिक गरिएको विवरणअनुसार पाँचतारा युवा संरक्षक मञ्चले ३० करोड रुपैयाँ, पहाडी क्षेत्र विकास अभियानले २० करोड ७३ लाख रुपैयाँ, सोसेक नेपालले पाँच करोड ८५ लाख रुपैयाँ तथा आइएनएफ नेपालले जाजरकोट भूकम्प पुनर्लाभ परियोजनामार्फत पाँच करोड ८६ लाख रुपैयाँ खर्च गर्ने जनाएको छ ।
त्यस्तै, सहास नेपालले एक करोड ७८ लाख, असल छिमेकी नेपालले एक करोड ६८ लाख, लिवर्डले एक करोड ५९ लाख, अपाङ्ग स्वावलम्बन संस्थाले ४३ लाख तथा यार्सन नेपालले २७ लाख रुपैयाँ बराबरका कार्यक्रम सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय दलित समाज कल्याण सङ्घले १२० जना दलित बालबालिकालाई छात्रवृत्ति उपलब्ध गराउने जनाएको छ । जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले दातृ निकायलाई गरिब, दलित, अपाङ्गता भएका व्यक्ति, जोखिममा रहेका बालबालिका तथा भूकम्पपीडित परिवारको पहिचान गरी प्रभावकारी सेवा प्रवाह गर्न आग्रह गरे ।








