२०८३ जेठ १ , शुक्रबार

हिमा गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा



जुम्ला ।  हिमा गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ । बिहीबार आयोजित एक समारोहका बीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको सभाध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । गाउँपालिका अध्यक्ष शाहीले खोप उमेर समूहका सबै बालबालिकाले नियमित तथा पूर्ण खोप प्राप्त गरेको सुनिश्चित भएपछि पालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको बताए ।

उनले हिमा गाउँपालिका स्वास्थ्य, शिक्षा र खानेपानीका क्षेत्रमा सधैं अग्रस्थानमा रहेको उल्लेख गर्दै स्वस्थ नागरिक निर्माणका लागि बालबालिकालाई पूर्ण खोप दिनु आवश्यक रहेको धारणा राखे ।  “देशका सक्षम नागरिक बनाउन स्वस्थ जनशक्ति आवश्यक हुन्छ । त्यसैले हामीले सबै खोप उमेर समूहका बालबालिकालाई खोप सुनिश्चित गरेका छौँ,” उनले भने । साथै खोप अभियानमा खटिएका स्वास्थ्यकर्मी प्रति उनले आभार व्यक्त गरे ।

जन्मेदेखि १५ महिनामुनिका तथा १६ देखि २३ महिनासम्मका बालबालिकालाई दिइने १५ प्रकारका खोप सुनिश्चित भएपछि प्रत्येक वर्ष पालिकालाई पूर्णखोप घोषणा गर्ने कार्यक्रम सञ्चालन हुँदै आएको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले हिमा गाउँपालिकाले शिक्षा, स्वास्थ्य तथा खानेपानी क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए उनले आगामी दिनमा पनि समन्वय र सहकार्यमार्फत पूर्णखोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुझाव दिए ।

प्रकाशित मिति : २०८३ जेठ १ गते शुक्रबार