सुर्खेत । कर्णालीका युवाहरूले क्षयरोग (टीबी) सँगै एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले निम्त्याउने समस्याबारे गाउँ–गाउँमा सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा नि-म्याट ग्लोबल र ग्लोबल कोअलिशन अफ टीबी एड्भोकेट (जीसीटीए) को साझेदारीमा आयोजित कार्यक्रममा युवाहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । कर्णाली प्रदेशस्तरीय युवा नेतृत्व विकास, क्षयरोग नियन्त्रण तथा एन्टिबायोटिक औषधिको असावधानीपूर्ण प्रयोगबाट उत्पन्न हुने प्रतिरोधी समस्याबारे छलफल गरिएको कार्यक्रममा कर्णालीका विभिन्न

जिल्लाका २० भन्दा बढी सक्रिय युवा सहभागी थिए । कार्यक्रममा युवाहरूलाई क्षयरोगका आधारभूत पक्ष, रोगको पहिचान, उपचार प्रक्रिया तथा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगले निम्त्याउने चुनौतीबारे नि-म्याट ग्लोबलका कार्यकारी निर्देशक मधुसुदन काफ्लेले जानकारी गराएका थिए । उनले क्षयरोग लागेमा औषधि नि:शुल्क पाईने, पूरा औषधि सेवन गर्ने, लागिहालेमा नडराउनेजस्ता विषयमा समुदाय र परिवारमा सचेतना जगाउन युवालाई आग्रह गरे ।
साथै उनले पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग बढ्दै गएको भन्दै नेपाल सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न र यसको प्रतिरोध न्यूनीकरण गर्न ‘प्रतिजैविक प्रतिरोध राष्ट्रिय कार्ययोजना’ कार्यान्वयनमा ल्याएको जानकारी दिए। सरकारले चिकित्सक र स्वास्थ्यकर्मीको पुर्जीबिना एन्टिबायोटिक बिक्री गर्न निषेध गरेको उनले बताए । काफ्लेका अनुसार बिरामीले सजिलै चिन्न सकून् भनेर यस्ता औषधिको लेभलमा रातो धर्का अनिवार्य गरिएको हो । यसबारे स्थानीय नागरिकलाई जानकारी नभएकाले युवाहरुले अभियान नै चलाएर जनचेतना जगाउन आवश्यक रहेको उनको भनाइ छ ।
कार्यकारी निर्देशक काफ्लेले कर्णालीका युवाहरुले जनस्वास्थ्यका समस्या आफ्नै जिम्मेवारी ठानेर समाधान खोज्ने उत्साह देखाउनुपर्नेमा जोड दिए । कार्यशालामा सहभागी युवाहरूले आफ्नो क्षेत्रका अनुभव र स्वास्थ्य चुनौतीबारे खुला रूपमा धारणा राखेका थिए । जुम्लाकी ज्वाला रोकायाले कार्यक्रमले टीबीका प्राविधिक तथा सामाजिक पक्षसँगै जनस्वास्थ्यका विषयमा नयाँ जानकारी हाँसिल गर्ने अवसर दिएको बताइन् । ‘हामीले यसबारे आफ्नो समाजमा पनि जानकारी दिनेछौँ, उनले भनिन् ‘यसले समुदायमा काम गर्दा आवश्यक ज्ञान र आत्मविश्वास दुवै दिएको छ ।’
सुर्खेतका उदयमान पाङ्गालीले टीबी र औषधिको सही प्रयोगबारे सचेतना फैलाउने अभियानलाई अझ प्रभावकारी र व्यापक बनाउन आगामी दिनमा थप सक्रिय हुने प्रतिबद्धता जनाए । उनले भने, ‘हामी सबै मिलेर आ-आफ्नो समुदायमा पुगेर सचेतना फैलाउने कामलाई अभियानकै रूपमा अघि बढाउँछौं ।’ त्यस्तै, कालिकोटको नरहरिनाथ गाउँपालिकाका अकेन्द्र दर्जीले कार्यशालाबाट सिकेको ज्ञान गाउँ–गाउँसम्म पुर्याउने योजना सुनाए । कालिकोटमा पनि समूह बनाएर सचेतनामूलक अभियान सञ्चालन गर्ने उनको भनाइ छ । कार्यक्रममा कर्णालीका युवाहरूले स्वास्थ्य क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै टीबी तथा एन्टिबायोटिक औषधिको जथाभावी प्रयोगविरुद्धको अभियानमा आफूहरू अग्रपङ्क्तिमा रहने बताएका छन् ।








