२०८३ जेठ १० , आइतबार

पुल निर्माण तीव्र



जाजरकाेट ।   कर्णाली प्रदेश सरकारको लगानीमा करोडौँ रुपैयाँका पक्की पुल निर्माण कार्यले तीव्रता पाएको छ । विभिन्न स्थानीय तहलाई जोड्ने तीन वटा पुल निर्माण भइरहेका छन् भने केही महत्वपूर्ण आयोजना भने अझै अलपत्र अवस्थामा छन् । जाजरकोट–जुम्ला सडकखण्डअन्तर्गत छेडागाड नगरपालिका–१० र ११ बीचको लम्तीखोलामा २५ मिटर लामो पक्की पुल निर्माण सुरु भएको छ । रु तीन करोड ४२ लाख बढी लागतमा निर्माण हुन लागेको पुलको जिम्मा बजरङ्गा ग्लोरियस एमबिएस जेभी काठमाडौंले लिएको हो ।
२०८५ वैशाखसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । स्थानीयका अनुसार पुल निर्माण भएपछि पश्चिम जाजरकोटका पालिकाबीच आवतजावत सहज हुने तथा विगतमा खोलामा बगेर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । यस्तै, छेडागाड नगरपालिका–६ सुवानाउली र जुनीचाँदे गाउँपालिका–५ लामातारा जोड्ने छेडाखोलामा ४२.७ मिटर लामो बेलिब्रिज निर्माण सम्पन्न भएको छ । रु तीन करोड ८२ लाख लागतको उक्त पुल निर्धारित समयअघि नै निर्माण भएपछि प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले निर्माण व्यवसायीलाई धन्यवाद दिएका छन् ।

त्यसैगरी, शिवालय गाउँपालिका–२ र ८ जोड्ने दुई पीपल सडक पुल निर्माण कार्य पनि सुरु गरिएको छ । रु तीन करोड १५ लाखभन्दा बढी लागतको २५ मिटर लामो पुल २०८५ वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य छ । तर, सबै आयोजना सहज रूपमा अघि बढेका छैनन् । छेडाचाँदे–जुम्ला सडकखण्डको साल्मा खोलामा निर्माणाधीन पक्की पुल भने पाँच वर्षदेखि अलपत्र परेको छ । रु चार करोड ८८ लाख लागतको उक्त पुल निर्माणको जिम्मा पाएको कम्पनीले दुई वटा पिलर निर्माण गरेर काम रोकिएको हो । पूर्वाधार विकास कार्यालय जाजरकोटका अनुसार ठेक्का तोडिएपछि निर्माण कम्पनी अदालत गएको छ ।

पुल निर्माण नहुँदा जुनीचाँदे, कुशे र छेडागाड क्षेत्रका स्थानीयले यातायातमा सास्ती भोग्दै आएका छन् । विशेषगरी वर्षायाममा खोलाबाटै वारपार गर्नुपर्ने बाध्यता अझै कायम छ । प्रदेश सरकारले वर्षेनि बजेट विनियोजन गरे पनि निर्माण व्यवसायीको लापरवाहीका कारण कतिपय आयोजना समयमै सम्पन्न हुन नसकेको जनाइएको छ । स्थानीयवासीले अलपत्र आयोजनाप्रति सम्बन्धित निकायले कडा निगरानी र खबरदारी गर्नुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार