मुगु । मुगमकार्मारोङ गाउँपालिकामा यार्चागुम्बा सङ्कलन सिजन सुरु भएसँगै अधिकांश विद्यालय बन्द भएका छन् । स्थानीयको मुख्य आम्दानीको स्रोत यार्चागुम्बा भएकाले विद्यार्थीसमेत अभिभावकसँगै पाटनतर्फ लागेका हुन् । गाउँपालिकाका १२ विद्यालयका विद्यार्थी यार्चागुम्बा सङ्कलनमा गएका कारण कक्षा सञ्चालन प्रभावित भएको छ । केही विद्यालयमा बर्खे बिदा दिइएको छ भने अन्य विद्यालयमा प्रारम्भिक बालविकासका कक्षा मात्रै सञ्चालन भइरहेका छन् ।
गाउँपालिकाले जेठ १६ गतेदेखि सामुदायिक वन क्षेत्रमा यार्चागुम्बा सङ्कलन खुला गर्ने कार्यविधि बनाएको छ । १० वर्षदेखि ६० वर्ष उमेर समूहसम्मका स्थानीय हरेक वर्ष यार्चागुम्बा टिप्न वन क्षेत्रमा जाने गर्छन् । स्थानीयका अनुसार एक सिजनमा एक जनाले एकदेखि दुई लाख रुपैयाँसम्म आम्दानी गर्न सक्ने भएकाले विद्यार्थीसमेत यार्चा सङ्कलनमा सहभागी हुने गरेका छन् ।
राम्रो गुणस्तरको यार्चागुम्बा प्रतिगोटा पाँच सयदेखि सात सय रुपैयाँसम्ममा बिक्री हुने गरेको व्यापारीहरूले बताएका छन् । पालिकाको तथ्याङ्क अनुसार मुगु र डोल्फु सामुदायिक वन क्षेत्रमा हरेक वर्ष करिब छ हजार सङ्कलक जाने गरेका छन् । जिल्लाबाहिरका सङ्कलकले दुई हजार पाँच सय र जिल्लाभित्रकाले दुई हजार रुपैयाँ राजस्व तिर्नुपर्ने व्यवस्था गरिएको छ ।









