२०८३ जेठ १० , आइतबार

चार वर्षदेखि अलपत्र खुर्रा खोला पुल



कालीकोट ।  कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका पाँच मालाचौरस्थित खुर्रा खोला पुल निर्माण कार्य चार वर्षदेखि अलपत्र पर्दा स्थानीयवासी र यात्रुहरू सास्ती खेप्न बाध्य भएका छन् । समयमै निर्माण सम्पन्न हुनुपर्ने पुलको काम अत्यन्त सुस्त गतिमा अघि बढ्दा वर्षायाममा आवतजावत झन् जोखिमपूर्ण बन्ने गरेको छ । सडक डिभिजन कार्यालय सुर्खेतले २०७९ जेठ २८ गते टि.डी.आर. कन्स्ट्रक्सन प्रालि, धनगढीसँग रु छ करोड ३७ लाख ५१ हजार  दुई सय २१ मा पुल निर्माण सम्झौता गरेको थियो ।

सम्झौता अनुसार एक वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने २० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल हालसम्म १२.५६ प्रतिशत मात्रै सम्पन्न भएको छ । निर्माण कम्पनीलाई पहिलो पटक २०८१ मंसिर २८ सम्मका लागि म्याद थप गरिएको भए पनि थपिएको अवधिसमेत सकिँदासम्म कामले गति लिन सकेको छैन । पुल नबन्दा आठबीस नगरपालिका पाँका स्थानीय बासिन्दासँगै कर्णाली राजमार्ग प्रयोग गर्ने यात्रुहरू हरेक वर्षायाममा समस्यामा पर्ने गरेका छन् ।

स्थानीय रबि बिष्टका अनुसार पुल अभावका कारण स्वास्थ्य सेवा लिन, विद्यालय जान तथा कृषि उत्पादन ओसारपसार गर्नसमेत कठिनाइ भइरहेको छ । स्थानीय लक्ष्मी चौलागाईंले समयमा पुल निर्माण भएको भए धेरै समस्या समाधान हुने बताउँदै अहिले पनि वर्षाको समयमा खोला तर्न निकै जोखिम उठाउनुपर्ने अवस्था रहेको गुनासो गरे । निर्माण कम्पनीले हालसम्म रु ८१ लाख ४२ हजारभन्दा बढी रकम भुक्तानी लिइसकेको भए पनि काममा उल्लेखनीय प्रगति नदेखिएको स्थानीयको आरोप छ ।

स्थानीय मयराम जैसीका अनुसार पुल निर्माणका लागि सुरुआतमा बस्तीसमेत हटाइएको थियो, तर अहिले निर्माण कम्पनीले काममा चासो नदिँदा स्थानीयमा आक्रोश बढेको छ । स्थानीय व्यापारीहरूले निर्माण कम्पनीका प्रतिनिधिले खाना तथा अन्य खर्चबापत लिएको करिब रु १३ लाख रकमसमेत अझै नतिरेको बताएका छन् । सडक डिभिजन कार्यालय सुर्खेतका प्रमुख विवश बाबु सदादेवले निर्माण कम्पनीविरुद्ध ठेक्का तोड्ने सूचना जारी गरिएको जानकारी दिए । उ निर्माण कार्यमा लगातार ढिलाइ भएपछि कानुनी प्रक्रिया अघि बढाइएको बताए ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार