२०८३ जेठ १० , आइतबार

कर्णाली करिडोर पुनः बन्द



हुम्ला ।  हुम्ला–बाजुरा सीमा विवादलाई लिएर कर्णाली करिडोर पुनः बन्द गरिएको छ । जेठ पाँच गते च्याचौरमा भएको झडपपछि उत्पन्न तनावका कारण बाजुरा जिल्लाका युवाहरूले कर्णाली करिडोरअन्तर्गत पिलुचौर–कवाडी सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध गरेका हुन् । स्थानीय स्रोतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले लाम्पाटा–च्याचौर क्षेत्रमा निर्माण गर्न लागेको प्रहरी चौकीलाई लिएर दुई पक्षबीच झडप भएको थियो । उक्त घटनापछि घाइतेहरूको उपचार, दोषीमाथि कारबाही तथा क्षतिपूर्ति लगायतका माग अघि सार्दै आन्दोलन चर्किएको हो ।

यसअघि पनि जेठ सात र आठ गते हिमाली युवा समूहले सडकमा टायर बालेर प्रदर्शन गर्दै यातायात बन्द गरेको थियो । त्यस समयमा हुम्ला, मुगु तथा कैलाश मानसरोवर यात्रामा जाने तीर्थयात्रीहरू बाटोमै अलपत्र परेका थिए भने स्थानीय व्यापार–व्यवसायसमेत प्रभावित भएको थियो । बन्दका कारण धुलाचौर क्षेत्रमा व्यापार ठप्प भएको र दैनिक उपभोग्य वस्तु ढुवानीसमेत प्रभावित भएको स्थानीयले बताएका छन् । सडक अवरुद्ध हुँदा अत्यावश्यक सेवामा समेत समस्या देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुराको पहलमा केही समयका लागि बन्द स्थगित गरिएको भए पनि माग पूरा नभएको भन्दै आन्दोलनकारीहरूले आइतबार पुनः अनिश्चितकालीन बन्द घोषणा गरेका छन् । आन्दोलनकारीहरूले लाम्पाटा घटनाको स्थलगत छानबिन, दोषीमाथि कानुनी कारबाही, लुटपाट भएको सम्पत्तिको क्षतिपूर्ति, घाइतेहरूको सम्पूर्ण उपचार खर्च व्यहोर्ने व्यवस्था, विस्थापित परिवारको पुनःस्थापना तथा सुरक्षा प्रत्याभूति सुनिश्चित गर्नुपर्ने माग गरेका छन् ।

साथै, लाम्पाटा क्षेत्रमा प्रहरी चौकी निर्माण कार्य अघि बढाउनुपर्ने मागसमेत उनीहरूको छ ।  हिमाली युवा समूहले जारी गरेको विज्ञप्तिमा माग पूरा नभएसम्म सडक पूर्ण रूपमा बन्द रहने स्पष्ट गरिएको छ । यता हुम्ला जिल्ला प्रशासन कार्यालयले विवाद समाधानका लागि सर्वदलीय तथा सर्वपक्षीय बैठक निरन्तर चलिरहेको जनाएको छ । स्थानीय प्रशासनले दुवै पक्षबीच सहमति जुटाउने प्रयास भइरहेको बताएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १० गते आइतबार