हुम्ला । जिल्लाकाे चङ्खेली गाउँपालिका पाँच स्थित डाँफे आधारभूत विद्यालय बाढीपहिरोका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएपछि त्यहाँ अध्ययनरत बालबालिका अहिले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य भएका छन् । गत जेठ पाँच गते आएको हावाहुरीसहितको भारी वर्षा र बाढीले विद्यालय भवनमा ठूलो क्षति पुर्याएपछि विद्यालय सञ्चालन गर्न कठिन भएको हो । विद्यालय भवन भत्किएपछि यहाँ अध्ययनरत करिब ८० जना विद्यार्थीलाई गाउँकै सामुदायिक भवन नजिकको खाली चौरमा राखेर अस्थायी रूपमा पढाइ सञ्चालन गरिएको छ ।
एक सातादेखि खुला स्थानमै कक्षा सञ्चालन भइरहे पनि विद्यार्थी तथा शिक्षकले निकै कठिनाइ झेल्नुपरेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका प्रधानाध्यापक बली तामाङका अनुसार बाढीपहिरोले विद्यालयको सम्पूर्ण संरचना अस्तव्यस्त बनाएको छ । भवन मात्र होइन, विद्यालयका महत्वपूर्ण शैक्षिक तथा प्रशासनिक सामग्रीसमेत पूर्ण रूपमा नष्ट भएका छन् । उनले लामो समयसम्म खुला चौरमा बसेर पढ्नुपर्दा विद्यार्थीको स्वास्थ्यमा समेत असर परेको बताए । चर्को घाम, हावा तथा चिसोका कारण केही विद्यार्थी बिरामी पर्न थालेका छन् भने नियमित पठनपाठन प्रभावित भएको छ ।
प्राकृतिक विपत्तिका कारण विद्यालयका सात कम्प्युटर, दुई थान ल्यापटप, २० वटा कुर्सी, ८० वटा बेन्च, सात वटा दराज, दुई दर्जनभन्दा बढी टेबुल, सेतो बोर्ड, चार वटा खाटलगायतका सामग्री नष्ट भएका छन् । यस्तै विद्यालयको खानेपानी ट्याङ्की तथा धारा पनि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेको छ । विद्यालय प्रशासनका अनुसार अहिले विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्रीको समेत अभाव भएको छ । प्रधानाध्यापक तामाङले स्थानीय तह र सम्बन्धित निकायलाई तत्काल अस्थायी भवन निर्माण, राहत सामग्री तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराइदिन आग्रह गरेका छन् ।
उनले जिल्ला विपत् व्यवस्थापन समितिले प्रहरीको मुचुल्काका आधारमा सरकारसमक्ष आवश्यक पहल गरिदिनुपर्ने आवश्यकता औँल्याए । स्थानीय अभिभावकले पनि बालबालिकाको भविष्य जोखिममा परेको भन्दै विद्यालय पुनःनिर्माण तथा सुरक्षित पठनपाठनको वातावरण तयार गर्न सरकारसँग माग गरेका छन् । वर्षायाम सुरु भइसकेकाले खुला चौरमा लामो समयसम्म कक्षा सञ्चालन गर्न नसकिने भन्दै उनीहरूले तत्काल वैकल्पिक व्यवस्थाको आवश्यकता रहेको बताएका छन् । विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि अहिले विद्यार्थीको पढाइ मात्रै होइन, उनीहरूको सुरक्षा र स्वास्थ्यसमेत चुनौतीमा परेको छ । स्थानीय तह र सम्बन्धित निकायले समयमै पहल नगरे आगामी दिनमा बालबालिकाको शिक्षामा थप असर पर्ने चिन्ता बढेको छ ।








