२०८३ जेठ १३ , बुधबार

लगानी अभावले कर्णालीका उद्योग संकटमा



सुर्खेत ।  कर्णाली प्रदेशमा औद्योगिक विकासको सम्भावना हुँदाहुँदै पनि लगानीमैत्री वातावरण अभावका कारण ठूला उद्योग सञ्चालनमा आउन सकेका छैनन् । यसको पछिल्लो उदाहरण पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा निर्माण सुरु गरिएको सिमेन्ट उद्योग बनेको छ, जहाँ पूर्वाधार अभाव र सरकारी सहयोग नपाउँदा उद्योग निर्माणको काम रोकिएको छ । २०७७ सालमा लगानी बोर्डबाट स्वीकृति पाएपछि सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीले दुई वर्षभित्र उत्पादन सुरु गर्ने लक्ष्यसहित उद्योग स्थापनाको प्रक्रिया अघि बढाएको थियो ।

कम्पनीले उद्योग सञ्चालनका लागि आवश्यक जग्गा व्यवस्थापन, प्रारम्भिक संरचना निर्माण तथा अन्य तयारीका कामसमेत सुरु गरिसकेको थियो ।  तर उद्योग स्थापना स्थलसम्म सडक पहुँच र विद्युत् विस्तार नहुँदा योजना अलपत्र परेको हो । कम्पनीका अध्यक्ष मुकुन्द तिमिल्सेनाका अनुसार उद्योग सञ्चालनका लागि वराहताल गाउँपालिका सात लखरपाटामा रहेको ९५ हजार हेक्टर क्षेत्रबाट चुनढुङ्गा उत्खनन गर्ने योजना बनाइएको थियो भने चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिनसमेत खरिद गरिसकिएको छ ।

करिब १५ अर्ब रुपैयाँ बराबरको लगानी अनुमान गरिएको यस परियोजनाका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाख रुपैयाँ लगानी स्वीकृत गरिसकेको छ । तर आवश्यक पूर्वाधार निर्माणमा सरकारी निकायबाट अपेक्षित सहयोग नपाएपछि कम्पनी उद्योगबाटै हात झिक्ने अवस्थामा पुगेको जनाएको छ। कम्पनीले सरकारले थप पहल नगरे परियोजना अघि बढाउन कठिन हुने स्पष्ट पारेको छ । सुर्खेतमा मात्रै होइन, कर्णालीका अन्य सम्भावित औद्योगिक परियोजनाको अवस्था पनि उस्तै छ । चार दशकअघि अध्ययन गरिएको सुर्खेत सिमेन्ट (चौकुने) उद्योगसमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

उक्त उद्योग सञ्चालनको जिम्मा २०६६ सालमा मुक्तिश्री प्रालिलाई दिइएको भए पनि डेढ दशक बितिसक्दा निर्माणको कुनै उल्लेखनीय काम अघि बढ्न सकेको छैन । उद्योग स्थलमा सम्पर्क कार्यालय राख्नुबाहेक अन्य पूर्वाधार निर्माण ठप्प छ । कर्णाली प्रदेशमा हालसम्म कुनै पनि ठूला उद्योग सञ्चालनमा आउन नसक्नुमा स्पष्ट औद्योगिक नीति अभाव, लगानी सुरक्षाको कमजोरी तथा पूर्वाधारको कमी मुख्य कारणका रूपमा देखिएको छ । प्रदेश सरकारले उद्योगमैत्री वातावरण बनाउन प्रभावकारी योजना ल्याउन नसकेको गुनासो लगानीकर्ताले गर्दै आएका छन् ।  प्रदेशको उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका अनुसार कर्णाली प्रदेशमा हाल ३० हजार आठ सय ३२ वटा साना तथा घरेलु उद्योग सञ्चालनमा छन्। ती उद्योग सेवा, उत्पादन, वनपैदावार, पर्यटन तथा ऊर्जा क्षेत्रमा आधारित छन् ।

सबैभन्दा बढी उद्योग सुर्खेतमा रहेका छन्, जहाँ १० हजार आठ सय ३९ उद्योग दर्ता भएका छन् । त्यस्तै दैलेखमा तीन हजार चार सय ४२, कालीकोटमा एक हजार पाँच सय ९१, जुम्लामा दुई हजार नाै सय ५४, मुगुमा दुई हजार चार सय २२, सल्यानमा एक हजार सात सय छ  हुम्लामा दुई हजार तिन सय  रुकुमपश्चिममा एक हजार सात सय ४७, जाजरकोटमा दुई हजार दुई सय ५२ र डोल्पामा एक हजार पाँच सय ६९ साना तथा घरेलु उद्योग दर्ता भएका छन्।निर्देशनालयका निर्देशक देवीलाल सापकोटाका अनुसार नयाँ उद्योग खुल्ने र बन्द हुने क्रम दुवै बढ्दो अवस्थामा रहेको छ । पर्याप्त लगानी, पूर्वाधार र नीति अभावका कारण कर्णालीमा दीर्घकालीन औद्योगिक विकास अझै चुनौतीपूर्ण बनेको छ ।

प्रकाशित मिति : २०८३ जेठ १३ गते बुधबार