सल्यान । कुमाख गाउँपालिकाले कृषि तथा पशुपालनलाई व्यावसायिक, प्रतिस्पर्धी र मर्यादित पेसाका रूपमा विकास गर्ने उद्देश्यसहित २७ जना कृषकलाई सम्मान गरेको छ । गाउँपालिकाले उत्पादन, लगानी र व्यावसायिकताका आधारमा छनोट गरिएका कृषकलाई गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कारसहित विभिन्न सम्मान प्रदान गरेको हो । यस वर्ष गाउँपालिका अध्यक्ष उत्कृष्ट कृषक पुरस्कार कृषितर्फ २० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्दै आएका वडा नं. पाँचका धर्मे बुढाथोकी र पशुपालनतर्फ बाख्रापालन गर्दै आएका वडा नं.छ का खिमे बुढाथोकीलाई प्रदान गरिएको छ ।
दुवै कृषकलाई समान ४८ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ । कृषि तथा पशुपक्षी विकास शाखाका पशु विकास अधिकृत विष्णु केसीका अनुसार कृषितर्फ २१ जना, पशुपालनतर्फ छ जना गरी कुल २७ कृषकलाई सम्मान गरिएको हो । कृषकहरूलाई छ हजारदेखि ३० हजार रुपैयाँसम्म नगद तथा कदरपत्र प्रदान गरिएको छ।गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी आवेदन माग गर्ने र त्यसपछि प्राप्त आवेदनका आधारमा स्थलगत अनुगमन गरी कृषक छनोट गर्ने प्रक्रिया अपनाएको कृषि शाखा प्रमुख सरोज खड्काले जानकारी दिए ।
पुरस्कार ग्रहण गर्दै व्यावसायिक बाख्रापालनमा संलग्न खिमे बुढाथोकीले गाउँपालिकाबाट प्राप्त सम्मानले आफूलाई थप मेहनत गर्न प्रेरणा मिलेको प्रतिक्रिया दिए । उनले निरन्तर परिश्रमले सफलता हासिल गर्न सकिने अनुभव पनि साझा गरे । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लालबहादुर रावतले कृषकलाई प्रोत्साहित गरेर उत्पादन वृद्धि गर्नु नै कार्यक्रमको मुख्य उद्देश्य भएको बताए। उनले नागरिकको जीवनस्तर सुधार गर्न गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे ।








