२०८३ जेठ १४ , बिहीबार
फ्रन्ट पेज

कर्णालीमा १४ हजार बढी बालबालिकामा अपाङ्गता



सुर्खेत । कर्णाली प्रदेशमा १९ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाको संख्या १४ हजार नौ सय ७४ पुगेको छ । प्रदेशमा बालबालिकामध्ये १.९८ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार कर्णालीमा सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका बालबालिका रहेका छन् । शारीरिक अपाङ्गता भएका बालबालिकाको संख्या ६ हजार चार सय ८३ रहेको छ, जुन कुल अपाङ्गता भएका बालबालिकामध्ये ४३ प्रतिशतभन्दा बढी हो ।

त्यसैगरी न्यून दृष्टियुक्त बालबालिका एक हजार दुइृ सय ४८, पूर्ण दृष्टिविहीन एक हजार एक सय ६० तथा बहिरोपन भएका बालबालिका एक हजार ४१ रहेका छन् । सुनाइसम्बन्धी समस्या भएका ८३९, बोलीसम्बन्धी समस्या भएका एक हजार एक तथा मानसिक तथा मनोसामाजिक अपाङ्गता भएका ४२३ बालबालिका रहेको तथ्यांकमा उल्लेख छ ।

उमेर समूहका आधारमा हेर्दा १५ देखि १९ वर्ष उमेर समूहमा अपाङ्गता भएका बालबालिकाको संख्या सबैभन्दा बढी देखिन्छ । यस उमेर समूहमा मात्रै चार हजार पाँच सय ३९ बालबालिका अपाङ्गता भएका छन् । १० देखि १४ वर्ष समूहमा चार हजार तीन सय ७१, ५ देखि ९ वर्षमा तीन हजार चार सय ६२ र ० देखि ४ वर्ष समूहमा दुई हजार ६०२ बालबालिका अपाङ्गता भएका छन् ।

प्रदेशको कुल बाल जनसंख्यासँग तुलना गर्दा १५–१९ वर्ष उमेर समूहमा अपाङ्गताको प्रतिशत सबैभन्दा बढी २.४६ प्रतिशत रहेको छ । १०–१४ वर्षमा २.१० प्रतिशत, ५–९ वर्षमा १.९१ प्रतिशत तथा ०–४ वर्षमा १.३६ प्रतिशत बालबालिकामा अपाङ्गता देखिएको छ ।

विज्ञहरूले स्वास्थ्य सेवा, प्रारम्भिक पहिचान र पुनस्र्थापना सेवाको पहुँच कमजोर हुँदा कर्णालीमा अपाङ्गताको समस्या थप जटिल बन्दै गएको बताएका छन् । राष्ट्रिय बालअधिकार परिषद्ले सञ्चालन गरेको उपचार तथा पुनस्र्थापना कार्यक्रममार्फत कर्णालीका विभिन्न जिल्लाका बालबालिकालाई सेवा प्रदान गरिए पनि आवश्यकताअनुसार पहुँच विस्तार गर्नुपर्ने देखिएको छ । विशेषज्ञहरूले प्रारम्भिक अवस्थामै पहिचान र उपचारलाई प्रभावकारी बनाउन सके अपाङ्गताको दर घटाउन सकिने बताएका छन् ।

कर्णाली प्रदेशमा बालबालिकामा अपाङ्गताको समस्या अन्य प्रदेशको तुलनामा बढी देखिनुका पछाडि भौगोलिक, आर्थिक, स्वास्थ्य तथा सामाजिक कारणहरू मुख्य रूपमा जिम्मेवार मानिने राष्ट्रिय अपाङ्ग महासंघ कर्णाली प्रदेश समितिका अध्यक्ष नन्दराज घितालले बताए । कर्णालीको दुर्गम भौगोलिक अवस्था ठूलो चुनौती बनेको उनको भनाइ छ ।

‘धेरै गाउँहरू सडक, अस्पताल र विशेषज्ञ स्वास्थ्य सेवाबाट टाढा छन् । गर्भवती महिला तथा नवजात शिशुले समयमै स्वास्थ्य सेवा नपाउँदा जन्मजात समस्या छ’ उनले भने, ‘यसले दीर्घकालीन अपाङ्गताको जोखिम बढाएको छ । भने गरिबी र कुपोषण पनि महत्वपूर्ण कारण हुन् ।’

उनका अनुसार कर्णालीमा धेरै परिवार आर्थिक रूपमा कमजोर भएकाले सन्तुलित आहार, पोषण तथा नियमित स्वास्थ्य परीक्षणमा पहुँच कम छ । भने बालबालिकामा कुपोषण, रक्तअल्पता र विकाससम्बन्धी समस्या देखिने भएकाले शारीरिक तथा मानसिक अपाङ्गताको सम्भावना बढ्छ ।

‘धेरै अभिभावकले प्रारम्भिक अवस्थामै रोग वा समस्या पहिचान गर्न सक्दैनन् । सामान्य उपचारबाट निको हुन सक्ने रोग समयमै उपचार नपाउँदा जटिल बन्दै अपाङ्गतामा परिणत हुने अवस्था आउँछ’ उनले थपे, ‘पुनस्र्थापना र विशेष शिक्षाको पहुँच सीमित छ । अपाङ्गता भएका बालबालिकाका लागि आवश्यक फिजियोथेरापी, विशेष विद्यालय, सहायक सामग्री र मनोसामाजिक परामर्श सेवाको अभावले समस्या दीर्घकालीन बन्दै गएको छ ।’

विशेषज्ञहरूका अनुसार प्रारम्भिक पहिचान, मातृ–शिशु स्वास्थ्य सेवा विस्तार, पोषण सुधार, जनचेतना अभिवृद्धि तथा पुनस्र्थापना सेवा गाउँस्तरसम्म पु¥याउन सके कर्णालीमा अपाङ्गताको समस्या घटाउन सकिने देखिन्छ ।

 

प्रकाशित मिति : २०८३ जेठ १४ गते बिहीबार