२०८३ जेठ १६ , शनिबार

महिला बिना समावेशीता छैन : नगर-प्रमुख ढकाल



सुर्खेत — वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राज्यका हरेक संरचना र निर्णय प्रक्रियामा महिलाको सक्षम तथा निर्णायक उपस्थिति सुनिश्चित गर्नुपर्ने बताएकी छन्। श्री ज्योति फाउन्डेशनको आयोजनामा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु भएको दोस्रो कर्णाली छोरी सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले महिला अधिकारका लागि भएका ऐतिहासिक संघर्षको संरक्षण गर्दै थप सशक्तीकरणतर्फ अघि बढ्नुपर्नेमा जोड दिइन्। नेपालमा महिला अधिकार स्थापनाका लागि विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षहरूको स्मरण गर्दै उनले योगमाया न्यौपानेजस्ता अग्रणी महिलाहरूले सती प्रथा, बालविवाह तथा अन्य सामाजिक कुरीतिविरुद्ध उठाएको आवाजले आजको परिवर्तनको जग निर्माण गरेको बताइन्।

नगर प्रमुख ढकालले वि.सं. २०६३ सालमा संसदबाट पारित ऐतिहासिक चारबुँदे घोषणाले महिलाको समान अधिकार र राज्यका विभिन्न निकायमा कम्तीमा ३३ प्रतिशत सहभागिता सुनिश्चित गरेको उल्लेख गरिन्। उक्त व्यवस्थाले नेपाली महिलाको राजनीतिक, सामाजिक तथा नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको उनको भनाइ थियो। महिला अधिकारका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भए पनि समाजमा अझै लैङ्गिक विभेद, हिंसा, अवसरको असमानता तथा विभिन्न सामाजिक कुरीतिहरू विद्यमान रहेको उनले बताइन्। यस्ता चुनौतीहरूको अन्त्यका लागि राज्य, समाज र परिवार सबै तहबाट सामूहिक प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उनको धारणा थियो।

उनले महिलाहरू अब पीडा र उत्पीडनका कथामा मात्र सीमित नरही संघर्ष, सफलता र उपलब्धिका प्रेरणादायी कथामार्फत समाज रूपान्तरणको नेतृत्व गर्न सक्षम भएको उल्लेख गरिन्। महिलाको आत्मविश्वास, क्षमता र नेतृत्व विकासले मात्रै समतामूलक, समावेशी र न्यायपूर्ण समाज निर्माण सम्भव हुने उनको भनाइ थियो। नगर प्रमुख ढकालले शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा महिलाको पहुँच विस्तार गर्न स्थानीय सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताइन्।

कर्णालीका छोरीहरूलाई आत्मविश्वासका साथ आफ्नो क्षमता पहिचान गर्दै समाज र राष्ट्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले महिलाको सहभागिता केवल प्रतिनिधित्वको विषय नभई समृद्ध, समावेशी र न्यायपूर्ण समाज निर्माणको आधार भएको स्पष्ट पारिन्। कार्यक्रममा सहभागी छोरीहरूलाई सम्बोधन गर्दै नगर प्रमुख ढकालले समानता, सम्मान र अवसरको सुनिश्चितताका लागि निरन्तर संघर्ष, सहकार्य र सकारात्मक सोच आवश्यक रहेको बताउँदै भविष्यप्रति आशावादी र दृढ संकल्पका साथ अघि बढ्न आह्वान गरिन्।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार