सुर्खेत । कर्णाली प्रदेशमा आइटीएफ तेक्वान्दो खेलको विकास, विस्तार तथा खेलाडीहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दोस्रो कर्णाली प्रदेश स्तरीय आइटीएफ एडभान्स तालिम कार्यक्रम–२०८३ सुरु भएको छ ।

वीरेन्द्रनगरस्थित कबडहलमा सञ्चालन भएको तालिम कार्यक्रमको उद्घाटन कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव रविन्द्र चन्दले गरेका हुन्। तीन दिनसम्म प्रशिक्षण नन्दबहादुर विकले गर्नेछन्।

कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहयोग तथा कर्णाली प्रदेश आइटीएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको तालिम तीन दिनसम्म सञ्चालन हुनेछ ।
कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेश आइटीएफ तेक्वान्दो सङ्घका अध्यक्ष होमबहादुर सुनारले गरेका थिए । उद्घाटन समारोहमा खेलकुदकर्मी, प्रशिक्षक, खेलाडी तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

संघका अनुसार तालिममा कर्णाली प्रदेशका सात जिल्लाबाट आएका १०२ जना खेलाडी सहभागी भएका छन् । सहभागी खेलाडीहरूलाई तेक्वान्दोका उन्नत सीप, प्रतियोगितात्मक रणनीति, आत्मरक्षा कला, शारीरिक तन्दुरुस्ती तथा खेल अनुशासनसम्बन्धी विशेष प्रशिक्षण प्रदान गरिनेछ ।
उद्घाटन कार्यक्रममा बोल्दै सदस्य सचिव चन्दले खेलकुद क्षेत्रको विकासका लागि दक्ष खेलाडी उत्पादन आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले खेलाडीहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
उनले प्रदेशका खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन नियमित प्रशिक्षण, आवश्यक पूर्वाधार र अवसरको विस्तार आवश्यक रहेको धारणा राखे।
अध्यक्ष होमबहादुर सुनारले कर्णालीमा आइटीएफ तेक्वान्दोप्रति युवाहरूको आकर्षण बढ्दै गएको बताउँदै खेलाडीहरूको प्राविधिक दक्षता बढाउन एडभान्स तालिम कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले कर्णालीका खेलाडीहरूले राष्ट्रिय प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरिरहेको उल्लेख गर्दै आगामी दिनमा अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरे।
तीन दिनसम्म सञ्चालन हुने तालिम कार्यक्रमले खेलाडीहरूको खेलकौशल विकाससँगै कर्णाली प्रदेशमा तेक्वान्दो खेलको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोजकले प्रदेशभरका प्रतिभावान खेलाडीलाई एकै स्थानमा ल्याएर अनुभव आदानप्रदान तथा उच्चस्तरीय प्रशिक्षण प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको जनाएको छ ।








