२०८३ मंसिर १२ , शनिबार
दशौँ राष्ट्रिय खेलकुद २०८३

बक्सिङमा विभागीय टिमको वर्चस्व, महिलातर्फ फाइनल र पुरुषतर्फ सेमिफाइनल समीकरण तयार

पुलिस, आर्मी र एपीएफका मुक्केबाजको सानदार प्रदर्शन, दर्जनौँ बाउटमा पहिलो राउन्डमै नतिजा


समाचार सारांश
Generated by AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदको बक्सिङमा नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफको वर्चस्व कायम छ। महिलातर्फ फाइनल र पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ।

सुर्खेत — दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बक्सिङमा विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपीएफ) का खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि दाबेदारी बलियो बनाएका छन्। शनिबार सम्पन्न तेस्रो सेसन (पुरुष क्वार्टरफाइनल) तथा चौथो सेसनका महिला र पुरुषतर्फका प्रतिस्पर्धामा विभागीय टिमको वर्चस्व देखिएको हो।

महिलातर्फका विभिन्न तौल समूहमा भएका सेमिफाइनल प्रतिस्पर्धामा विभागीय खेलाडीले सानदार जित निकाले। ५७ केजी फेदरवेटमा नेपाल पुलिसकी निशा तामाङले एपीएफकी खिमा खातीलाई र आर्मीकी बिमला श्रेष्ठले गण्डकीकी निशिका गुरुङलाई समान ५–० को अंकका आधारमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरे। ६० केजी लाइटवेटमा आर्मीकी पुनम रावलले लुम्बिनीकी मुस्कान अग्रवालविरुद्ध पहिलो राउन्डमै जित निकाल्दा पुलिसकी नारिका राईले कर्णालीकी माध्यिका अधिकारीलाई ५–० ले पाखा लगाइन्। ६५ केजी वेल्टरवेटमा पुलिसकी लक्ष्मी घर्ती मगरले सुदूरपश्चिमकी सञ्जिता चौधरीलाई दोस्रो राउन्डमा आरएससी (रेफ्री स्टप्स कन्टेस्ट) का आधारमा र आर्मीकी चन्द्रकला थापाले कर्णालीकी सरिताकुमारी बि.क.लाई पहिलो राउन्डमै हराइन्।

त्यस्तै, ७० केजी लाइट मिडलवेटमा पुलिसकी नेहा बिकले बागमतीकी बिना महर्जनलाई र आर्मीकी कुसुम तामाङले कर्णालीकी चन्द्रा पुनमगरलाई पहिलो राउन्डमै आरएससीका आधारमा पराजित गरिन्। ७५ केजी मिडलवेटमा सुदूरपश्चिमकी प्रतिक्षा रोकायाले कोशीकी नुमा लिम्बुमाथि ३–२ को कठिन जित निकाल्दा एपीएफकी सरस्वती रानाले आर्मीकी ललिता महर्जनबाट वाकओभर पाइन्। ८० केजी लाइट हेभीवेटमा आर्मीकी निरु गुरुङले सुदूरपश्चिमकी महिमा बिष्टलाई र एपीएफकी माया चौधरीले गण्डकीकी नेहा राईलाई पहिलो राउन्डमै पराजित गरे। ८० केजीमाथिको हेभीवेटमा कर्णालीकी टिका श्रेष्ठले सुदूरपश्चिमकी भावना बमलाई तथा आर्मीकी हीरादेवी नेपालीले कोशीकी त्रिशा जवेगुबाट वाकओभर पाउँदै अघिल्लो चरणमा स्थान बनाए।

पुरुषतर्फको सेसन ४ अन्तर्गत ५० केजी फ्लाइवेटमा एपीएफका लक्ष्मण राईले कर्णालीका मोहन गुरुङलाई पहिलो राउन्डमै र बागमतीका लालप्रसाद उप्रेतीले आर्मीका नामराज शाहीलाई ५–० ले हराए। ५५ केजी बान्टमवेटमा कोशीका फुङ्लाङ काम्बाङले कर्णालीका रोहन सारुलाई तथा पुलिसका चन्द्रबहादुर थापाले एपीएफका प्रदीप महर्जनलाई समान ५–० को अन्तरले पराजित गरे। ६० केजी लाइटवेटमा आर्मीका खगेन्द्र रोका मगरले एपीएफका बिक्रम परियारविरुद्ध तेस्रो राउन्डमा र सुदूरपश्चिमका हेमराज जोशीले पुलिसका छिरिङ वाङ्दी शेर्पालाई ४–१ ले पन्छाए। ६५ केजी वेल्टरवेटमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका बिनोद नगरजीलाई ४–० ले र आर्मीका नितेश नेपालीले लुम्बिनीका विवेक थापालाई ५–० ले हराए।

यसैगरी, शनिबार सम्पन्न पुरुष क्वार्टरफाइनल (सेसन ३) का खेलहरूमा ७० केजी लाइट मिडलवेटतर्फ आर्मीका दानबहादुर दर्लामीले लुम्बिनीका मनोज श्रेष्ठलाई र एपीएफका बिक्रम चौधरीले कर्णालीका टेकबहादुर सिंजालीलाई पहिलो राउन्डमै हराए। ७५ केजी मिडलवेटमा घरेलु टोली कर्णालीका भूगोल बम ठकुरीले कोशीका मेलिश लामालाई ५–० ले पराजित गर्दा एपीएफका सुमन कार्कीले लुम्बिनीका हिमाल बुढा मगरलाई दोस्रो राउन्डमा पाखा लगाए।

८० केजी लाइट हेभीवेटमा पुलिसका प्रदीप पार्कीले कोशीका सुमन शाहलाई ५–० ले र बागमतीका पासाङ शेर्पाले कर्णालीका समीर शाहीलाई पराजित गरे। ८५ केजी क्रुजरवेटमा कोशीका नुर्बु शेर्पाले कर्णालीका बसन्त हमालबाट वाकओभर पाउँदा लुम्बिनीका दिनेश रानाले सुदूरपश्चिमका आयुष खड्कालाई दोस्रो राउन्डमा हराए। ९० केजी हेभीवेटमा एपीएफका रविन नेपालले गण्डकीका दीपक सुनुवारलाई ४–१ ले र बागमतीका विजय बाटाले सुदूरपश्चिमका विपिन पुजारालाई पराजित गरे। ९० केजीमाथिको सुपर हेभीवेटमा पुलिसका गौरव प्रधानले कर्णालीका रविन खड्काबाट वाकओभर पाए भने एपीएफका गोकुल गुरुङले कोशीका पुष्पलाल न्यौपानेलाई पहिलो राउन्डमै हराउँदै सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित मिति : २०८३ मंसिर १२ गते शनिबार