जुम्ला । जुम्लामा मार्सीधान रोपाइँ सुरु भएको छ । जेठ महिना लागेसँगै जिल्लाका आठवटै स्थानीय तहका किसान धान रोपाइँमा व्यस्त भएका छन् । गुठिचौर गाउँपालिकामा जेठको पहिलो सातादेखि रोपाइँ सुरु भए पनि तातोपानी क्षेत्रमा दोस्रो सातादेखि धान रोप्ने काम भइरहेको छ । विश्वकै अग्लो स्थानमा धान फल्ने क्षेत्रका रूपमा परिचित छुमचौरमा समेत रोपाइँ सुरु भइसकेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा उच्च माग रहेको मार्सीधानको खेती पछिल्ला वर्षहरूमा घट्दै गएको छ । २०७९ सालको बाढीपहिरोले मार्सी फाँट र सिँचाइ संरचनामा ठूलो क्षति पुर्याएपछि उत्पादनमा असर परेको किसानहरूको भनाइ छ ।
बाढी प्रभावित खेतको पुनःस्थापना र सिँचाइ कुलो मर्मतमा पर्याप्त ध्यान नदिइएको गुनासो पनि उनीहरूको छ । स्थानीय किसानका अनुसार चैत १२ गते बीउ भिजाएर सुरु हुने धान खेतीको प्रक्रिया जेठ महिनामा रोपाइँसँगै चरम व्यस्ततामा पुग्छ । जुम्लामा सिँचाइको उपलब्धताअनुसार निश्चित मिति तोकेर सामूहिक रूपमा रोपाइँ गर्ने चलन रहेको छ। यसैबीच तातोपानी गाउँपालिकाले धान खेतीमा प्रयोग हुने ब्युटाक्लोर विषादीको प्रयोग नियन्त्रण गर्न अभियान सञ्चालन गरेको छ ।
विषादीको अत्यधिक प्रयोगले माटोको उर्वराशक्ति र प्राङ्गारिक खेती प्रणालीमा असर पुर्याउने भन्दै सचेतना कार्यक्रम सञ्चालन गरिएको हो । जिल्लाभर करिब २ हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । वार्षिक पाँच हजार नाै सय ८७ मेट्रिकटन धान उत्पादन हुने जुम्लामा औसत उत्पादकत्व २.०७ मेट्रिकटन प्रतिहेक्टर रहेको कृषि तथ्याङ्कले देखाएको छ ।









