सुर्खेत । कर्णाली प्रदेशका अधिकांश ग्रामीण विद्यालय विद्यार्थी अभावको समस्याले ग्रस्त बन्दै गएका छन् । कुनै समय विद्यार्थीको चहलपहलले भरिएका गाउँका विद्यालय अहिले सुनसान देखिन थालेका छन् ।

अर्कोतर्फ प्रदेश राजधानी वीरेन्द्रनगर लगायतका सहर केन्द्रित विद्यालयमा भने विद्यार्थीको चाप वर्षेनी बढिरहेको छ । बसाइँसराइ, घट्दो जन्मदर, अवसरको खोजी, अंग्रेजी माध्यमप्रतिको आकर्षण र गुणस्तरीय शिक्षाको अपेक्षाले कर्णालीको शिक्षा क्षेत्रमा असन्तुलन सिर्जना गरेको देखिन्छ ।
सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको तथ्यांकअनुसार कर्णाली प्रदेशभर तीन हजार ४ सय ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् । तीमध्ये एक हजार १ सय ८८ विद्यालयमा ५० जनाभन्दा कम विद्यार्थी अध्ययनरत छन् ।
अधिकांश विद्यालय दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक र आधारभूत तहका हुन् । कतिपय विद्यालयमा विद्यार्थीको संख्या शिक्षक अनुपातभन्दा निकै कम छ भने कतै शिक्षक भए पनि पढाउन पर्याप्त विद्यार्थी छैनन् ।
दैलेखको नौमुले गाउँपालिका–६ स्थित भैरव प्राथमिक विद्यालय यसको एउटा प्रतिनिधि उदाहरण हो । प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्म अध्ययन हुने विद्यालयमा जम्मा २६ विद्यार्थी छन् । तीमध्ये १० जना बालविकास केन्द्रमा अध्ययनरत छन् भने कक्षा १ देखि ५ सम्म केवल १६ जना विद्यार्थी रहेका छन् ।
विद्यालयमा दुई जना शिक्षक कार्यरत छन् । विद्यालयका प्रधानाध्यापक रेशमबहादुर रानाका अनुसार जन्मदर घट्नु र गाउँबाट परिवारहरू बसाइँ सर्नु विद्यार्थी संख्या घट्नुको मुख्य कारण हो ।
यस्तै अवस्था कालीकोटको खाँडाचक्र नगरपालिका–१० स्थित जइरामजैसी आधारभूत विद्यालयमा पनि देखिन्छ । प्रारम्भिक बालविकास र कक्षा १ मात्र सञ्चालनमा रहेको उक्त विद्यालयमा जम्मा १५ विद्यार्थी छन् । विद्यालय प्रशासनका अनुसार सेवा क्षेत्रभित्रका धेरै परिवार कैलालीलगायतका जिल्लामा बसाइँ सरिसकेका छन् । जसका कारण विद्यालयमा नयाँ विद्यार्थी थपिने क्रम लगभग रोकिएको छ ।
कर्णालीका अधिकांश ग्रामीण विद्यालयमा यही समस्या दोहोरिएको छ । सेवा क्षेत्रभित्र पर्याप्त बालबालिका नहुँदा विद्यालय सञ्चालन चुनौतीपूर्ण बन्दै गएको छ । कतिपय स्थानमा विद्यालय भवन, फर्निचर र अन्य भौतिक पूर्वाधार पर्याप्त भए पनि विद्यार्थी नहुँदा ती संरचनाहरूको उपयोग हुन सकेको छैन ।
जाजरकोटको छेडागाड नगरपालिका स्थित दुर्गा प्राथमिक विद्यालयमा पनि यस्तै अवस्था छ । विद्यालयमा पूर्वाधारको कमी छैन, शिक्षक पनि छन्, तर विद्यार्थी संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन । विद्यालय प्रशासनका अनुसार अहिले अधिकांश अभिभावकले गाउँभन्दा बजार क्षेत्रका विद्यालय रोज्न थालेका छन् । जसले गर्दा ग्रामीण विद्यालयहरू थप कमजोर बन्दै गएका छन् ।
विद्यार्थी अभावको समस्या केवल प्राथमिक तहमा सीमित छैन । माध्यमिक विद्यालयहरू पनि यसको असरबाट अछुतो छैनन् । दैलेखको भगवतीमाई गाउँपालिकास्थित ज्वाला माध्यमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थी संख्या करिब ४० प्रतिशतले घटेको छ ।
एक समय ९ सय भन्दा बढी विद्यार्थी अध्ययनरत विद्यालयमा अहिले करिब ५ सय विद्यार्थी मात्र छन् । कृषि विषयको प्राविधिक शिक्षा सञ्चालन भइरहे पनि विद्यार्थी संख्या निरन्तर घटिरहेको विद्यालय प्रशासन बताउँछ ।
विद्यालयका शिक्षकहरूका अनुसार गाउँका परिवारहरू शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य सुविधा खोज्दै सहरतर्फ बसाइँ सर्दा विद्यालयमा विद्यार्थी घट्दै गएका हुन् । धेरै अभिभावकले बालबालिकाको भविष्य सुनिश्चित गर्न भन्दै सानै उमेरदेखि सहर पठाउन थालेका छन् ।
यसले गाउँका विद्यालयको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ । यता प्रदेश राजधानी वीरेन्द्रनगरका विद्यालयहरूमा भने अवस्था ठीक उल्टो छ । यहाँका सामुदायिक विद्यालयहरू विद्यार्थीको अत्यधिक चाप व्यवस्थापन गर्न संघर्षरत छन् ।
वीरेन्द्रनगर–६ स्थित जन नमुना माध्यमिक विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालयको क्षमता सीमित भए पनि कर्णालीका विभिन्न जिल्लाबाट अध्ययनका लागि आउने विद्यार्थीको संख्या बढ्दो छ ।
विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठका अनुसार विद्यालयको पूर्वाधार र सरकारी दरबन्दीले धान्न सक्नेभन्दा धेरै विद्यार्थी भर्ना लिनुपर्ने अवस्था छ । अभिभावक र विद्यार्थीको आकर्षण बढ्दै जाँदा कोटा निर्धारण गरेर मात्र भर्ना लिनुपर्ने बाध्यता सिर्जना भएको उनले बताए ।
वीरेन्द्रनगरकै अमरज्योति नमुना माध्यमिक विद्यालयको अवस्था पनि उस्तै छ । विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । विद्यालय व्यवस्थापनका अनुसार यहाँ अध्ययन गर्ने अधिकांश विद्यार्थी सेवा क्षेत्रबाहिरका छन् । दैलेख, कालीकोट, जुम्ला, मुगु, हुम्लालगायत जिल्लाबाट विद्यार्थी अध्ययनका लागि वीरेन्द्रनगर आउने गरेका छन् ।
शिक्षाविद्हरूका अनुसार ग्रामीण विद्यालयप्रतिको विश्वास कमजोर बन्दै जानु पनि विद्यार्थी पलायनको एउटा कारण हो । अभिभावकमा अंग्रेजी माध्यममा पढाइ हुने विद्यालय नै राम्रो भन्ने धारणा बलियो बन्दै गएको छ । जसका कारण गाउँका सरकारी विद्यालय छाडेर सहर केन्द्रित विद्यालयमा बालबालिका पठाउने प्रवृत्ति बढेको छ ।
शिक्षाविद् जीतबहादुर शाहका अनुसार बालबालिकाले कम्तीमा आधारभूत तहसम्म आफ्नै गाउँमा अध्ययन गर्ने वातावरण बनाउन आवश्यक छ । उनले समाज, संस्कृति र स्थानीय परिवेशसँग बालबालिकाको सम्बन्ध कायम राख्न पनि स्थानीय विद्यालयको भूमिका महत्त्वपूर्ण हुने बताए ।
नेपाल शिक्षक महासंघ कर्णालीका पदाधिकारीहरू पनि ग्रामीण विद्यालयलाई विश्वासयोग्य र प्रतिस्पर्धी बनाउन राज्यले विशेष नीति ल्याउनुपर्ने बताउँछन् । शिक्षक व्यवस्थापन, पूर्वाधार विकास, गुणस्तरीय शिक्षाको सुनिश्चितता र समुदायको विश्वास पुनःस्थापना नगरेसम्म समस्या समाधान नहुने उनीहरूको निष्कर्ष छ ।
विशेषज्ञहरूका अनुसार अहिले देखिएको अवस्था केवल शिक्षा क्षेत्रको समस्या मात्र होइन, यो बसाइँसराइ, विकासको असन्तुलन र अवसरको केन्द्रीकरणसँग जोडिएको विषय पनि हो । गाउँ खाली हुँदै जाँदा विद्यालयहरू रित्तिने क्रम अझ तीव्र हुन सक्छ । त्यसैले ग्रामीण क्षेत्रमा शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत सेवाको पहुँच विस्तार गर्दै स्थानीय विद्यालयलाई आकर्षक बनाउन सके मात्र कर्णालीको शिक्षा क्षेत्रमा देखिएको असन्तुलन कम गर्न सकिने सरोकारवालाहरूको भनाइ छ ।








