जुम्ला । हिमाली जिल्ला जुम्लामा उत्पादित अर्गानिक कृषि उपजको बिक्रीबाट गत आर्थिक वर्ष २०८०/८१ मा ६९ करोड १५ लाख ६१ हजार रुपैयाँ आम्दानी भएको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लामा उत्पादन हुने कृषि वस्तुको बजारमा उच्च माग रहेकाले किसानहरूको आम्दानीमा उल्लेखनीय वृद्धि भएको हो । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार कुल आम्दानीमध्ये सबैभन्दा ठूलो हिस्सा स्याउ बिक्रीबाट आएको छ । गत आर्थिक वर्षमा नौ हजार तिन सय ३१ मेट्रिक टन स्याउ बिक्री हुँदा ६६ करोड ३१ लाख रुपैयाँ आम्दानी भएको तथ्याङ्कले देखाएको छ । स्वाद, गुणस्तर र अर्गानिक उत्पादनका कारण जुम्लाको स्याउ देशभर लोकप्रिय बन्दै गएको छ ।
स्याउपछि सिमी बिक्रीबाट किसानले राम्रो आम्दानी गरेका छन् । ५५ हजार आठ सय तिन किलोग्राम सिमी बिक्रीबाट एक करोड ३३ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । यस्तै, ९० हजार ६६ किलोग्राम आलु बिक्रीबाट ३७ लाख १७ हजार रुपैयाँ, छ हजार १५० किलोग्राम फापरको पिठो बिक्रीबाट १५ लाख ३७ हजार रुपैयाँ तथा १६ हजार ४०० किलोग्राम कोदोको पिठो बिक्रीबाट २४ लाख ६० हजार रुपैयाँ आम्दानी भएको कार्यालयले जनाएको छ । त्यसैगरी, एक हजार एक सय २० किलोग्राम स्याउको चाना बिक्रीबाट ११ लाख २० हजार रुपैयाँ, २५ हजार नाे सय वटा ओखरका दाना बिक्रीबाट दुई लाख ५९ हजार रुपैयाँ र दुई हजार नाै सय १३ किलोग्राम भटमास बिक्रीबाट तीन लाख ६१ हजार रुपैयाँ आम्दानी भएको छ ।
मार्सी चामल, चिनो, कागुनो तथा जौबाट बनेका परिकारको बिक्रीबाट समेत उल्लेखनीय आम्दानी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। कृषि विकास कार्यालयका अनुसार जुम्लामा उत्पादन हुने अर्गानिक कृषि उपजको बजारमा अत्यधिक माग भए पनि उत्पादनले माग धान्न सकेको छैन । विशेषगरी स्याउ र मार्सी चामलको माग वर्षेनी बढ्दै गएको भए पनि सीमित उत्पादनका कारण उपभोक्ताको आवश्यकता पूरा गर्न चुनौती देखिएको छ ।
प्रमुख अधिकारीका अनुसार स्याउ उत्पादनको मौसममा बजारमा पठाइने अधिकांश स्याउ दुई महिनाभित्रै बिक्री हुने गरेका छन् । त्यस्तै, मार्सी चामलको माग देशका विभिन्न सहरमा निरन्तर बढिरहेको भए पनि पर्याप्त उत्पादन नहुँदा बजारमा अभाव देखिने गरेको छ । जुम्लाको हावापानी अर्गानिक खेतीका लागि उपयुक्त भएकाले उत्पादन वृद्धि, प्रशोधन, भण्डारण तथा बजारीकरणमा थप लगानी गर्न सके कृषि क्षेत्रबाट अझ बढी आर्थिक लाभ लिन सकिने सम्भावना रहेको अधिकारीले बताए ।
किसानलाई आधुनिक कृषि प्रविधि, गुणस्तरीय बिरुवा र सहज बजार पहुँच उपलब्ध गराउन सके जुम्लाका कृषि उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अझ प्रतिस्पर्धी बन्न सक्ने विश्वास गरिएको छ । कृषि विकास कार्यालयले उत्पादन वृद्धि र बजार व्यवस्थापनमा विशेष ध्यान दिए आगामी वर्षमा कृषि क्षेत्रबाट हुने आम्दानी अझ बढ्ने अपेक्षा गरेको छ । जुम्लाको स्याउ, मार्सी चामललगायत स्थानीय अर्गानिक उत्पादनले जिल्लाको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।









