हुम्ला । बाजुरा र हुम्लाबीचको सीमा विवादको असर कर्णाली करिडोरमा देखिएको छ । बाजुराको हिमाली गाउँपालिकाका स्थानीय युवा क्लबले धुलाचौर क्षेत्रमा सडक अवरुद्ध गरेपछि सयौँ यात्रु अलपत्र परेका छन् । बुधबार राति १० बजेदेखि धुलाचौर क्षेत्रमा सडक बन्द गरिएपछि हुम्लाबाट बाहिरिने र हुम्लातर्फ आउने सबै प्रकारका सवारीसाधन रोकिएका छन्। सडक अवरोधका कारण यात्रुहरू गन्तव्यमा पुग्न नसकी समस्यामा परेका छन् । हुम्लाबाट नेपालगञ्ज जाँदै गरेका यात्रु जनक सार्कीका अनुसार बाजुरा र हुम्लाको सीमा क्षेत्रमा देखिएको विवादका कारण बाजुरातर्फबाट सडक बन्द गरिएको हो । यसले सुर्खेत, नेपालगञ्जलगायतका स्थानबाट हुम्ला आउने तथा हुम्लाबाट बाहिरिने यात्रुलाई प्रत्यक्ष असर पुगेको छ ।
सडक अवरोधका कारण बस, ट्रक, बोलेरो जिप, ट्याक्टर र मोटरसाइकलसहित ८० भन्दा बढी सवारीसाधन धुलाचौर क्षेत्रमा रोकिएका छन् । हुम्ला प्रवेश गर्ने र बाहिरिने गरी करिब डेढ सयभन्दा बढी यात्रु प्रभावित भएका छन् । यात्रुहरू सडकमै रोकिएर बस्न बाध्य भएका छन् भने खाद्यान्न, दैनिक उपभोग्य सामग्री तथा अन्य ढुवानीसमेत प्रभावित भएको छ । बन्दकर्ताले सडकको बीचभागमा ढुङ्गा राखेर आवागमन पूर्ण रूपमा बन्द गरेका छन् । लामो समयसम्म सडक सञ्चालन हुन नसक्दा यात्रुहरूले सम्बन्धित निकायसँग तत्काल समस्या समाधान गर्न आग्रह गरेका छन् । उनीहरूले प्रशासन र सरोकारवाला निकायको सक्रिय पहल आवश्यक रहेको बताएका छन् ।
बाजुरा र हुम्लाको सीमाक्षेत्र अन्तर्गत पर्ने लाम्पाटा–च्याचौर क्षेत्रको सीमा विवाद लामो समयदेखि कायम छ । यही विवादका कारण गत जेठ पाँच गते दुवै जिल्लाका स्थानीयबीच झडप भएको थियो, जसमा बाजुराका चार जना घाइते भएका थिए । उक्त घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै बाजुरातर्फका स्थानीयले कर्णाली करिडोर अवरुद्ध गरेका हुन् । सीमा विवाद समाधान र सडक सञ्चालनका लागि स्थानीय प्रशासन तथा सम्बन्धित निकायबीच छलफल जारी रहेको जनाइएको छ । तर समाचार तयार पार्दासम्म सडक सञ्चालन हुन सकेको छैन ।








