जाजरकोट । जाजरकोटमा रेबिजविरुद्धको खोप अभाव हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । कर्णाली प्रदेश सरकारबाट समयमै खोप आपूर्ति नभएकाले जिल्ला स्वास्थ्य सेवा कार्यालय र जाजरकोट अस्पतालमा खोपको मौज्दात सकिएको जनाइएको छ । गाउँबस्तीका स्वास्थ्य चौकीहरूमा खोप उपलब्ध नभएपछि रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्ने सेवाग्राही निराश भएर फर्किन बाध्य भएका छन् ।
जिल्लाका सातवटै स्थानीय तहका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले जाजरकोट अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरिए पनि आधारभूत खोपको अभावले सेवा प्रभावित बनेको छ । खोप नपाएपछि स्थानीयहरू रुकुमपश्चिमको चौरजहारी अस्पताल तथा सुर्खेतस्थित प्रदेश अस्पतालसम्म पुग्न बाध्य भएका छन् । भेरी नगरपालिका–११ का तिलक आचार्यले अस्पतालको भौतिक संरचना विस्तार भए पनि आवश्यक स्वास्थ्य सेवा अझै प्रभावकारी हुन नसकेको बताए ।
विशेषगरी कुकुरको टोकाइपछि रेबिज संक्रमणको जोखिममा परेका नागरिक खोपका लागि अस्पताल पुग्ने गरेका छन् । तर सरकारी अस्पतालमा खोप नहुँदा उनीहरूले निजी मेडिकलबाट महँगो मूल्यमा खोप खरिद गरी लगाउनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने रेबिजविरुद्धको खोप अभाव हुँदा आर्थिक भार समेत बढेको स्थानीयको गुनासो छ । खोप आपूर्तिको समस्या समाधान गर्न सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग सर्वसाधारणले गरेका छन् ।









