२०८३ असार ४ , बिहीबार

सल्यानमा निःशुल्क जडीबुटीका बिरुवा वितरण



सल्यान । वनस्पति अनुसन्धान केन्द्र सल्यानले औषधीय तथा आर्थिक महत्वका विभिन्न जडीबुटी र वनस्पतिका बिरुवा निःशुल्क वितरण अभियान सुरु गरेको छ । वनस्पति अनुसन्धान तथा बिरुवा उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले केन्द्रले असार एक गतेदेखि बिरुवा वितरण कार्य अघि बढाएको हो । परम्परागत खेतीबाट अपेक्षित आम्दानी नहुँदा, उत्पादन लागत बढ्दै जाँदा र खेतीयोग्य जमिन बाँझो रहने क्रम बढिरहेका बेला जडीबुटी खेती किसानका लागि आकर्षक विकल्प बन्दै गएको छ ।

एक पटक रोपेर लामो समयसम्म उत्पादन लिन सकिने र बजारमा राम्रो मूल्य प्राप्त हुने भएकाले यस्ता वनस्पतिलाई किसानले भविष्यको स्थायी आम्दानी स्रोतका रूपमा लिन थालेका छन् । आयआर्जन वृद्धि तथा जैविक विविधताको संरक्षण गर्ने लक्ष्यसहित केन्द्रले सल्यानसहित आसपासका जिल्लामा बिरुवा वितरण गरिरहेको छ । कपुरकोट गाउँपालिका तिन मूलपानीस्थित अनुसन्धान केन्द्र र त्यसअन्तर्गतका नर्सरीहरूमा हाल करिब ७५ हजार बिरुवा मौज्दात रहेको केन्द्रका प्रमुख वैज्ञानिक अधिकृत डा. मित्र पाठकले जानकारी दिए ।

उनका अनुसार चालु आर्थिक वर्षमा करिब ५० हजार बिरुवा उत्पादन गरिएको छ भने गत वर्ष उत्पादन भई बाँकी रहेका २५ हजार बिरुवा पनि वितरणका लागि तयार छन् । गत वर्ष केन्द्रले ३६ हजार बिरुवा उत्पादन गरेको थियो । सल्यानका साथै कर्णाली प्रदेशका तल्लो पाँच जिल्ला तथा लुम्बिनी प्रदेशका दाङ, रोल्पा, रुकुमपूर्व र प्युठानमा समेत बिरुवा वितरण हुँदै आएको छ । स्थानीय वातावरणमा सहजै हुर्कन सक्ने जडीबुटी तथा बहुउपयोगी वनस्पतिका बिरुवालाई प्राथमिकतामा राखिएको केन्द्रले जनाएको छ ।

डा. पाठकका अनुसार बाँझो जमिन, निजी तथा सामुदायिक वन र प्रयोगविहीन क्षेत्रलाई उत्पादनशील बनाउन चाहने कृषक तथा संस्थाहरूलाई प्राथमिकताका साथ बिरुवा उपलब्ध गराइनेछ। बोधिचित्त, श्रीखण्ड, रक्तचन्दन र शीतलचिनीजस्ता उच्च आर्थिक तथा औषधीय महत्वका वनस्पतिप्रति किसानको चासो बढ्दै गएको पनि केन्द्रले जनाएको छ । केन्द्रका अनुसार निःशुल्क बिरुवा वितरण कार्यक्रम असार १५ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०८३ असार ४ गते बिहीबार