२०८३ असार ७ , आइतबार

खानेपानी वितरणमा विभेद, सर्वसाधारण समस्यामा



कालीकोट ।  सदरमुकाम मान्ममा खानेपानी वितरणमा असमानता भएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् । पहुँच भएका व्यक्ति तथा केही सरकारी कार्यालयमा नियमित रूपमा पानी आपूर्ति भइरहेको बेला सर्वसाधारण भने खानेपानीको अभाव झेल्न बाध्य भएको स्थानीयको आरोप छ । मान्म बजारको पश्चिम क्षेत्र तथा कारागार आसपासका बस्तीमा खानेपानी आपूर्तिका लागि प्रयोग हुने मुख्य वितरण प्रणालीबाट पर्याप्त पानी नपुग्दा दैनिक जीवन प्रभावित भएको स्थानीयवासी बताउँछन् । उनीहरूका अनुसार पानी वितरणमा पारदर्शिता नहुँदा पहुँचविहीन उपभोक्ता बढी मारमा परेका छन् ।

केही महिनाअघि सबै उपभोक्तालाई समान रूपमा पानी उपलब्ध गराउने उद्देश्यले मिटर जडान गरिएको थियो । सुरुवाती चरणमा पानी वितरणमा केही सुधार देखिए पनि पछिल्लो समय पुनः असमानता बढेको स्थानीयको भनाइ छ । स्थानीय उपभोक्ता रत्नबहादुर कार्कीका अनुसार खानेपानी वितरण प्रणालीमा प्रभावशाली व्यक्तिहरूले बढी सुविधा पाइरहेका छन् । “कतिपय स्थानमा मुख्य लाइनबाटै ठूला पाइप जडान गरिएका छन् भने सामान्य उपभोक्ताले पर्याप्त पानी पाउन सकेका छैनन् उनले भने  ।

स्थानीय निर्मला पाण्डेले आफ्नो धारामा लामो समयदेखि पानी नआएको गुनासो गरे । उनका  अनुसार केही घरमा नियमित रूपमा पानी आपूर्ति भइरहँदा अन्य परिवार भने पानीको जोहो गर्न कठिनाइ भोगिरहेका छन्।स्थानीयवासीले खानेपानी वितरण प्रणालीलाई व्यवस्थित, पारदर्शी र समान पहुँचमा आधारित बनाउन माग गरेका छन् । उनीहरूका अनुसार वितरण संरचनाको प्राविधिक परीक्षण गरी सबै उपभोक्तालाई समान रूपमा सेवा उपलब्ध गराउन आवश्यक छ ।

स्थानीय गौरी आचार्य शाहीले सम्बन्धित निकायमा पटक–पटक गुनासो गरे पनि अपेक्षित सुनुवाइ नभएको बताउनुभयो।यस विषयमा वडा नं. १ का वडाध्यक्ष धर्मराज टमटाले भने आफूलाई औपचारिक रूपमा कुनै गुनासो प्राप्त नभएको प्रतिक्रिया दिए । खानेपानी जस्तो आधारभूत आवश्यकतामा सबै नागरिकको समान अधिकार सुनिश्चित गर्न वितरण प्रणालीलाई पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता स्थानीयवासीले औँल्याएका छन् ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार