२०८३ असार ७ , आइतबार

शारदा नगरपालिकामा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न



सल्यान । शारदा नगरपालिकाको आयोजना तथा रुम टु रिड र दलित विकास समाजको प्राविधिक सहयोगमा चौथो पालिका स्तरीय पढाइ मेला सम्पन्न भएको छ । नगरपालिका–१ स्थित शिवजन माध्यमिक विद्यालय, शीतलपाटीमा आयोजित मेलामा नगरभित्रका ३९ वटा विद्यालयको सहभागिता रहेको थियो । बालबालिकामा पठन संस्कृतिको विकास, सिकाइ अनुभव आदानप्रदान तथा शैक्षिक सामग्रीको प्रभावकारी प्रयोग प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

मेलाको उद्घाटन कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले शिक्षाप्रतिको चेतना अभिवृद्धि र बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । साथै, अन्य स्थानीय तहहरूले पनि यस्ता अभ्यासलाई निरन्तरता दिनुपर्नेमा उनले जाेड दिए । कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले गुणस्तरीय शिक्षाको आधार बलियो पठन संस्कृतिमा निर्भर रहने उल्लेख गर्दै विद्यालयमा पढ्ने बानीको विकास, सिर्जनात्मक सिकाइ र प्रविधिमैत्री शिक्षण प्रणालीलाई प्राथमिकता दिन आवश्यक रहेको बताए ।

शारदा नगरपालिकाका नगर प्रमुख प्रकाश भण्डारीले पढाइ मेलाले विद्यार्थीमा सिर्जनशीलता विकास, पठन सीप अभिवृद्धि तथा अन्तरविद्यालय सिकाइ आदानप्रदानलाई थप सुदृढ बनाएको बताए । उनले सानो लगानीबाट सुरु गरिएको अभियान अहिले कर्णाली प्रदेशकै नमूना अभ्यासका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै विद्यार्थीमा पढ्ने बानीको विकास र असल अभ्यासको आदानप्रदानमा मेला प्रभावकारी बनेको धारणा व्यक्त गरे । नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख लिलाधर बबालका अनुसार शारदा नगरपालिकाले पुस्तकालय स्थापना, शिक्षक तालिम, बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणलाई प्राथमिकताका साथ अघि बढाउँदै आएको छ ।

मेलामा विद्यालयहरूले तयार पारेका शैक्षिक सामग्री, स्थानीय इतिहास तथा संस्कृतिसम्बन्धी प्रस्तुति, पठन सीप अभिवृद्धिका सामग्री तथा विद्यार्थीका सिर्जनात्मक गतिविधिहरू प्रदर्शनीमा राखिएका थिए । साथै, पठन सीप मापन, चित्रकला, चित्रकथा लेखन, कथा वाचन, लोकगीत, भिडियो सामग्री निर्माण, सांस्कृतिक प्रस्तुति तथा करियर परामर्शलगायतका विविध कार्यक्रम सञ्चालन गरिएको थियो । सहभागीहरूले पढाइ मेलाले विद्यार्थी, शिक्षक तथा अभिभावकबीच सिकाइ अनुभव आदानप्रदान गर्ने अवसर प्रदान गर्नुका साथै विद्यालयमा पठन संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार ७ गते आइतबार