सुर्खेत । तीन दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको डोल्पाको ऐतिहासिक बलाङ्ग्रा चौंरी फार्म पुनः सञ्चालनमा ल्याउने विषयले नयाँ गति पाएको छ । स्थानीय तह, पशु विकाससँग सम्बन्धित सरकारी निकाय र स्थानीयवासीबीच फार्म पुनर्जीवनका लागि सहमति जुट्दै जाँदा हिमाली पशुपालन र स्थानीय अर्थतन्त्र पुनः चलायमान हुने अपेक्षा बढेको हो ।

त्रिपुरासुन्दरी नगरपालिका–११ स्थित बलाङ्ग्रा चौंरी फार्म वि.सं. २०३६ सालमा तत्कालीन श्री ५ को सरकारले स्थापना गरेको थियो । याक तथा चौंरी पालन, घाँस उत्पादन, दुग्धजन्य वस्तु उत्पादन र स्थानीय रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको उक्त फार्म वि.सं. २०४८ सम्म सञ्चालनमा थियो । त्यसपछि फार्ममा रहेका १५० भन्दा बढी याक तथा चौंरीसहित सम्पूर्ण सम्पत्ति लिलाम गरिएपछि फार्म बन्द भएको थियो ।
करिब ३५ वर्षदेखि निष्क्रिय रहेको फार्म पुनः सञ्चालनको बहस अहिले डोल्पामा चुलिएको छ । स्थानीयवासीको निरन्तर मागपछि राष्ट्रिय पशुपन्छी स्रोत व्यवस्थापन तथा प्रवद्र्धन कार्यालय, हरिहरभवनले डोल्पामा ‘याक–चौंरी संरक्षण, प्रवद्र्धन तथा याक चिज उत्पादनको व्यवसायीकरण’ विषयक नीति संवाद कार्यक्रम आयोजना गरेपछि फार्म पुनरुत्थानको विषय थप चर्चामा आएको हो ।
संवाद कार्यक्रममा त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकाया, उपप्रमुख देवी घर्ती, पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. साजन रोकाया, दुग्ध विकास संस्थान नेपालगञ्जका प्रमुख विजयसिंह कुर्मी, चौंरी संरक्षण तथा प्रवद्र्धन कार्यक्रमका वरिष्ठ पशु विकास अधिकृत केशव भट्ट, पूर्व कार्यालय प्रमुख चन्द्रलाल धराला तथा स्थानीय सरोकारवालाको सहभागिता रहेको थियो ।
कार्यक्रममा नगरप्रमुख रोकाया र उपप्रमुख घर्तीले बलाङ्ग्रा चौंरी फार्म पुनः सञ्चालनका लागि स्थानीय सरकारले विगत केही वर्षदेखि प्रदेश र संघीय सरकारसँग निरन्तर पहल गर्दै आएको बताए । उनीहरुका अनुसार फार्म पुनः सञ्चालनको सम्भाव्यता अध्ययन र स्थलगत निरीक्षणसमेत सम्पन्न भइसकेको छ ।
‘फार्म पुनः सञ्चालन भए बन्तडीसहित आसपासका बस्तीका युवालाई रोजगारी मिल्नेछ,’ उनले भने, ‘पशुपालन व्यवसाय विस्तार हुनेछ र स्थानीय अर्थतन्त्र चलायमान बन्नेछ,’ नगरप्रमुख रोकायाले भने ।
दुग्ध विकास संस्थान नेपालगञ्जका प्रमुख विजयसिंह कुर्मीले याक तथा चौंरी पालनका लागि डोल्पामा पर्याप्त सम्भावना हुँदाहुँदै पनि दूध, दही र चिजजस्ता दुग्धजन्य वस्तु बाहिरबाट आयात गर्नुपर्नु विडम्बनापूर्ण अवस्था भएको बताए ।
उनका अनुसार जिल्लामा पर्याप्त चरन क्षेत्र, खर्क तथा प्राकृतिक घाँसे मैदान उपलब्ध भएकाले व्यावसायिक रूपमा याक तथा चौंरी पालन विस्तार गर्न सकिन्छ । ‘डोल्पामा उत्पादन हुने चिज र अन्य दुग्धजन्य वस्तुको बजार सुनिश्चित छ,’ उनले भने, ‘उत्पादन बढे दुग्ध विकास संस्थानले बजारीकरणमा सहकार्य गर्न तयार छ ।’
पशु अस्पताल तथा पशु सेवा कार्यालय डोल्पाका प्रमुख डा. साजन रोकाया तथा पूर्व प्रमुख चन्द्रलाल धरालाले डोल्पाको हिमाली भूगोल याक तथा चौंरी पालनका लागि अत्यन्त उपयुक्त रहेको बताए । पछिल्ला वर्षहरूमा किसानहरू पुनः चौंरी पालनतर्फ आकर्षित हुन थालेको, सडक पहुँच विस्तार भएको र पर्यटन गतिविधि बढ्दै गएकाले उत्पादित वस्तुको बजारसमेत फराकिलो बन्दै गएको उनीहरूको भनाइ छ ।
उनीहरुका अनुसार डोल्पोबुद्ध, शे–फोक्सुण्डो र जगदुल्ला क्षेत्रमा हाल करिब तीन हजार चौंरी रहेका छन् । विगतमा बलाङ्ग्रा फार्मले विभिन्न प्रजातिका घाँस उत्पादन गरी खुमलटारसम्म निर्यात गर्ने गरेको इतिहाससमेत रहेको छ ।
चौंरी संरक्षण तथा प्रवद्र्धन कार्यक्रमका वरिष्ठ पशु विकास अधिकृत केशव भट्टले आगामी आर्थिक वर्षभित्रै फार्म पुनः सञ्चालनको प्रक्रिया अघि बढाउने लक्ष्य रहेको जानकारी दिए ।
उनले पशुपालनको कुल लागतको करिब ७० प्रतिशत हिस्सा आहारामा खर्च हुने भए पनि डोल्पामा पर्याप्त प्राकृतिक चरन क्षेत्र भएकाले उत्पादन लागत न्यून रहने बताए । ‘गोठालो व्यवस्थापन प्रभावकारी बनाउन सके डोल्पामा चौंरी पालन अत्यन्त लाभदायक व्यवसाय बन्न सक्छ,’ उनले भने, ‘फार्म पुनर्जीवनसँगै चिज, घ्यू तथा अन्य दुग्धजन्य उत्पादन उद्योग स्थापना गर्न सकिन्छ । याक–चौंरीजन्य परम्परागत उत्पादनको अन्तर्राष्ट्रिय बजारसमेत विस्तार भइरहेको छ ।’
कार्यक्रममा सहभागी स्थानीयवासी तथा महिलाहरूले बलाङ्ग्रा चौंरी फार्मले विगतमा गाउँको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे । उनीहरूले फार्म बन्द भएपछि रोजगारीका अवसर घटेको, पशुपालन व्यवसाय कमजोर बनेको र गाउँको आर्थिक गतिविधि खस्किएको बताए ।
स्थानीयवासीका अनुसार फार्म पुनः सञ्चालन भएमा नयाँ पुस्तालाई गाउँमै स्वरोजगार बनाउन, परम्परागत पशुपालन संरक्षण गर्न र हिमाली क्षेत्रमा बढ्दो बसाइँसराइँ रोक्न समेत सहयोग पुग्नेछ ।
लामो समयदेखि ओझेलमा परेको बलाङ्ग्रा चौंरी फार्म पुनर्जीवनको तयारीले डोल्पामा नयाँ आशा जगाएको छ । सरकारी प्रतिबद्धता कार्यान्वयनमा रूपान्तरण हुन सके यो फार्म केवल एउटा पुरानो संरचनाको पुनःस्थापना मात्र नभई डोल्पाको हिमाली अर्थतन्त्र, पशुपालन संस्कृति र ग्रामीण जीविकोपार्जन पुनर्जीवनको आधार बन्न सक्ने अपेक्षा गरिएको छ ।








