२०८३ असार ८ , सोमबार

चार राष्ट्रिय रेकर्डसहित आर्मी च्याम्पियन



सुर्खेत । वीरेन्द्रनगरमा सम्पन्न ४६औँ नेशनल एथलेटिक्स च्याम्पियनसिपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ । तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आर्मीले १७ स्वर्ण, १२ रजत र ७ कास्यसहित कुल ३६ पदक जित्दै पहिलो स्थान हासिल गरेको हो। नेपाल पुलिस क्लब आठ स्वर्ण,  सात रजत र तिन कास्यसहित कुल १८ पदक जितेर दोस्रो स्थानमा रह्यो भने बागमती प्रदेश  दुई स्वर्ण, एक रजत र एक कास्य पदकसहित तेस्रो स्थानमा सीमित भयो ।

नेपाल एथलेटिक्स संघको आयोजनामा तथा कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सहजीकरणमा सम्पन्न प्रतियोगिता चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका कारण विशेष चर्चामा रह्यो। नेपाल पुलिस क्लबकी जयरानी थारुले चार सय मिटर दौड ५७.१९ सेकेण्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन्। उनले ट्रिपल जम्पमा पनि १२ मिटर ४९ सेन्टिमिटर दूरी पार गर्दै अर्को राष्ट्रिय रेकर्ड आफ्नो नाममा लेखाइन् ।

महिलातर्फ १६ सय मिटर रिले दौडमा त्रिभुवन आर्मी क्लबले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्यो। यस्तै पुरुष लङजम्पमा आर्मीकै सलिम देवानले सात  मिटर ५८ सेन्टिमिटर दूरी पार गर्दै नयाँ राष्ट्रिय रेकर्ड बनाएका छन् । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टिमका २४० खेलाडी सहभागी भएका थिए। पुरुष र महिलातर्फ १४–१४ गरी २८ विधामा प्रतिस्पर्धा भएको थियो ।

विजेता खेलाडीहरूलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । चार वटा नयाँ राष्ट्रिय कीर्तिमानसँगै सम्पन्न प्रतियोगिताले नेपाली एथलेटिक्सको विकासमा नयाँ उत्साह थपेको खेलकर्मीहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार