सल्यान । जिल्ला अस्पताल तथा पालिका स्तरीय स्वास्थ्य संस्थामा विगत तीन महिनादेखि प्रेसर, सुगर, मानसिक रोग तथा परिवार नियोजनका लागि प्रयोग हुने नि:शुल्क औषधिको अभाव भएको छ । कर्णाली प्रदेश सरकारले समयमै औषधि आपूर्ति नगर्दा जिल्लाभरका सयौं दीर्घरोगी प्रभावित भएका छन् । नियमित सेवन गर्नुपर्ने औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएपछि बिरामीहरू निजी मेडिकलबाट महँगो मूल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् ।
बन्गाड कुपिण्डे नगरपालिका नाैका ५३ वर्षीय प्रेम बुढाले स्वास्थ्य संस्थाबाट पाउने नि:शुल्क औषधि नपाउँदा प्रत्येक महिना एक हजार रुपैयाँभन्दा बढी खर्च गरेर औषधि किन्नुपरेको बताए । नजिकका मेडिकलमा समेत आवश्यक औषधि उपलब्ध नहुँदा सदरमुकाम खलंगा पुग्न आउजाउमै तीन सय रुपैयाँसम्म खर्च हुने गरेको उनले बताए । यसले आर्थिक भारसँगै बिरामीलाई थप सास्ती पनि दिएको उनको भनाइ छ । शारदा नगरपालिका दुईकी एक मानसिक रोगी महिलाले सरकारले नि:शुल्क औषधि उपलब्ध गराउने व्यवस्था भए पनि अस्पतालमा जाँदा पटक–पटक रित्तो हात फर्किनुपरेको गुनासो गरिन् ।
आर्थिक अभावका कारण समयमै औषधि किन्न नसक्दा केही दिन औषधि सेवन नै छुट्ने गरेको उनले बताइन् । यसले स्वास्थ्य अवस्थामै असर पर्ने गरेको उनको भनाइ छ । कपुरकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुवास हमालका अनुसार पालिकाका सबै स्वास्थ्य संस्थामा सुगर, प्रेसर, मानसिक रोग तथा परिवार नियोजनका औषधिको अभाव छ। औषधि नहुँदा पालिकाभित्रका करिब तिन सय दीर्घरोगी प्रभावित भएका छन् । दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले पनि प्रदेशबाट प्रत्येक वर्ष औषधि ढिलो आउने समस्या दोहोरिने गरेको बताए ।
बिरामीले दैनिक औषधिबारे सोध्ने गरे पनि सन्तोषजनक जवाफ दिन नसकिएको उनले बताए । स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने ९८ प्रकारका नि:शुल्क औषधिमध्ये प्रेसर, सुगर र मानसिक रोगका औषधि हालसम्म नआएकाले बिरामीलाई निजी मेडिकल वा अस्पतालको फार्मेसीबाट खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको बताए । कर्णाली प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य विभागले औषधि खरिद प्रक्रियामा ढिलाइ भएकाले आपूर्ति रोकिएको स्वीकार गर्दै अब दुई–तीन दिनभित्र जिल्लामा औषधि पठाइने जनाएको छ ।









