२०८३ असार १५ , सोमबार

महिनावारी विभेद र बालविवाहमुक्त वडा घोषणा



जुम्ला ।  जिल्लाकाे तातोपानी गाउँपालिका आठ लाई महिनावारी विभेद तथा बालविवाहमुक्त वडा घोषणा गरिएको छ । सामाजिक कुरीतिका रूपमा रहेका महिनावारी विभेद र बालविवाह अन्त्य गर्ने उद्देश्यका साथ आवश्यक १५ वटा सूचक र २० वटा प्रक्रिया पूरा गरेपछि आइतबार एक समारोहबीच वडालाई घोषणा गरिएको हो । यो तातोपानी गाउँपालिकाको दोस्रो महिनावारी विभेद तथा बालविवाहमुक्त वडा बनेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय सदस्य तथा पूर्व प्रतिनिधिसभा सदस्य विनिता कठायतले छोराछोरीबीचको विभेद, अभिभावकको असचेतना र पुराना सामाजिक सोचका कारण बालविवाह अझै चुनौतीका रूपमा रहेको बताइन् । उनले महिनावारी भएका महिलालाई सुरक्षित बस्ने वातावरण, पोषिलो आहार र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिँदै घोषणा मात्र नभई त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताइन् ।

विभेदमुक्त समाज निर्माण घरपरिवारबाटै सुरु गर्नुपर्ने उनको भनाइ थियो । वडा अध्यक्ष नरबहादुर रावतले सबै सरोकारवालाको सहकार्यबाट वडालाई घोषणाका लागि योग्य बनाउन सफल भएको बताए । उनले घोषणा दिगो बनाउन १० बुँदे घोषणापत्रसमेत सार्वजनिक गर्दै बालविवाह नगर्ने, नगराउने तथा महिनावारी विभेद अन्त्यका लागि सामूहिक प्रतिबद्धता जनाए । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंले पाँच वर्षभित्र सम्पूर्ण तातोपानी गाउँपालिकालाई सबै प्रकारका विभेदबाट मुक्त बनाउने लक्ष्यका साथ अभियान सञ्चालन भइरहेको जानकारी दिए ।

उपाध्यक्ष रेवती रावलले घोषणाको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।  जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी दीपक पौडेल तथा सामाजिक विकास कार्यालयका प्रमुख टोपबहादुर बुढाले सामाजिक रूपान्तरणका लागि यस्ता अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्दै घोषणाको दिगोपनामा जोड दिए ।

गाउँपालिकाको समन्वयमा सर्वोदय नेपाल, किर्डाक नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएकाले वडाले आवश्यक सूचक पूरा गर्न सफल भएको जनाइएको छ । कार्यक्रमका वक्ताहरूले घोषणालाई व्यवहारमा उतार्दै बालविवाह र महिनावारी विभेदरहित सभ्य समाज निर्माणका लागि निरन्तर जनचेतना, शिक्षा र सामुदायिक सहभागिता आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार