२०८३ असार १५ , सोमबार

असारकाे मध्ये आउदा कर्णालीमा २२.८% रोपाइँ



सुर्खेत । राष्ट्रिय धान दिवस मनाइरहँदा कर्णाली प्रदेशमा अपेक्षाअनुसार धान रोपाइँ हुन सकेको छैन । लामो समयसम्म परेको खडेरी र जलवायु परिवर्तनको प्रभावका कारण प्रदेशमा हालसम्म २२.८ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न भएको छ । कृषि विभागको तथ्यांकअनुसार गत वर्ष यही अवधिमा कर्णालीमा ३९.१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष भने सोही अवधिको तुलनामा रोपाइँको गति उल्लेख्य रूपमा घटेको छ ।

पर्याप्त वर्षा नहुँदा किसानले खेतमा रोपाइँ गर्न कठिनाइ भोगिरहेका छन् । देशभर १३ लाख ८१ हजार चार सय ८८ हेक्टर क्षेत्रफलमा बर्खे धान खेती हुने गरे पनि असार १२ गतेसम्म एक लाख ५६ हजार पाँच सय ८३.६७ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको कृषि विभागले जनाएको छ । देशभर हालसम्म औसत ११.३३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

प्रदेशगत रूपमा कर्णालीमा सबैभन्दा बढी २२.८ प्रतिशत रोपाइँ भएको छ । त्यसपछि लुम्बिनीमा २०.९ प्रतिशत, गण्डकीमा १२.७ प्रतिशत, बागमतीमा १२.६ प्रतिशत, सुदूरपश्चिममा ९.३ प्रतिशत, कोशीमा ८.३ प्रतिशत र मधेशमा ५ प्रतिशत रोपाइँ भएको छ ।  मधेश प्रदेशमा रोपाइँको प्रगति सबैभन्दा न्यून रहेको छ । गत वर्षको तुलनामा लुम्बिनी र मधेशबाहेक अन्य सबै प्रदेशमा धान रोपाइँ सुस्त देखिएको कृषि विभागको तथ्यांकले देखाएको छ ।

गत वर्ष यही अवधिमा कर्णालीमा ३९.१ प्रतिशत, सुदूरपश्चिममा ४५.५ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशीमा १४.३ प्रतिशत र गण्डकीमा १३.८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।  कृषि विज्ञहरूका अनुसार समयमै पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित भएको हो । आगामी केही दिनभित्र पर्याप्त वर्षा भए रोपाइँले गति लिने अपेक्षा गरिएको छ । समयमै रोपाइँ हुन नसके उत्पादनमा समेत असर पर्ने भएकाले किसान र सरोकारवाला निकाय वर्षाको प्रतीक्षामा रहेका छन् ।

प्रकाशित मिति : २०८३ असार १५ गते सोमबार