सल्यान । स्थानीय खाद्य परिकारको प्रवर्द्धन गर्दै कुपोषण न्यूनीकरण र सन्तुलित आहारप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सल्यानको दार्मा गाउँपालिकामा पोषण मेला आयोजना गरिएको छ । मेलामा स्थानीय महिलाले आफ्नै खेतबारीमा उत्पादन भएका खाद्यान्न, तरकारी, फलफूल तथा दलहनबाट तयार गरिएका पौष्टिक परिकार प्रदर्शन गरी स्वस्थ जीवनका लागि स्थानीय खानाको महत्वबारे जानकारी दिएका छन् । मेलामा कोदो, फापर, मकै, गहुँ, सिमी, भटमास, विभिन्न गेडागुडी, हरियो सागसब्जी, अण्डा, दूध तथा मौसमी फलफूलबाट बनाइएका परिकार प्रदर्शनीमा राखिएका थिए ।
सहभागीले स्थानीय स्रोतसाधनमै आधारित खानाले शरीरलाई आवश्यक पोषक तत्त्व उपलब्ध गराउनुका साथै परम्परागत खानाको संरक्षण र स्थानीय उत्पादनको प्रवर्द्धनमा समेत टेवा पुग्ने धारणा व्यक्त गरेका थिए । दार्मा गाउँपालिका छ की स्थानीय खिमा केसीले पोषण मेलाले समुदायमा पोषणसम्बन्धी ज्ञान र चेतना विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार मेलामार्फत स्थानीय खाद्यवस्तुको पोषण मूल्यबारे थप जानकारी प्राप्त भएको छ भने दैनिक भोजनमा पौष्टिक परिकार समावेश गर्न प्रेरणा समेत मिलेको छ ।
स्थानीय उत्पादनको प्रयोगले स्वास्थ्य सुधारका साथै आत्मनिर्भर जीवनशैली विकासमा सहयोग पुग्ने उहाँको भनाइ थियो । दार्मा गाउँपालिकाका अध्यक्ष निमबहादुर केसीले पोषण केवल स्वास्थ्यसँग सम्बन्धित विषय नभई कृषि, शिक्षा, सरसफाइ र पारिवारिक व्यवहारसँग प्रत्यक्ष जोडिएको बहुआयामिक विषय भएको उल्लेख गरे । स्थानीय स्रोतसाधनको अधिकतम उपयोग गरी प्रत्येक परिवारलाई पोषणमैत्री बनाउन यस्ता कार्यक्रम प्रभावकारी हुने उनकाे विश्वास छ ।
स्वास्थ्य शाखा प्रमुख यज्ञ बस्नेतले विशेषगरी गर्भवती तथा सुत्केरी आमा, शिशु र बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन व्यवहार परिवर्तन आवश्यक रहेको बताए । उनले घरमै उत्पादन हुने पौष्टिक खाद्यवस्तुको नियमित प्रयोग र सन्तुलित आहारको अभ्यासले कुपोषण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने उल्लेख गरे । सहभागीका अनुसार यस्ता पोषण मेलाले स्थानीय खाद्य संस्कृतिको संरक्षण गर्दै स्वस्थ समाज निर्माणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।









