२०८३ असार १६ , मंगलबार

कर्णालीको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा



कालीकोट ।  कालीकोटलाई कर्णाली प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका सबै नौवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजित कार्यक्रममा जिल्ला खोप समन्वय समितिले जिल्लाभरका सबै लक्षित बालबालिका, गर्भवती महिला र किशोरीले राष्ट्रिय नियमित खोप कार्यक्रमअन्तर्गत पाउनुपर्ने सबै खोप प्राप्त गरेको सुनिश्चित भएपछि घोषणा गरिएको जनाएको छ ।

जिल्ला खोप समन्वय समिति सदस्यसचिव तथा स्वास्थ्य सेवा कार्यालयका प्रमुख व्यवस्थापक डा. रत्नवीर सुनारले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तह र समुदायको सक्रिय सहभागिताले यो उपलब्धि सम्भव भएको बताए उनका अनुसार जन्मदेखि पाँच वर्षमुनिका बालबालिकाले नौ प्रकारका, गर्भवती महिलाले एक र किशोरीहरूले एक गरी कुल ११ प्रकारका खोप प्राप्त गरेका छन् । जिल्ला समन्वय समितिका प्रमुख धनजित शाहीले बालबालिकालाई विभिन्न संक्रामक रोगबाट सुरक्षित राख्न नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरिएको बताए । उनले विकट भौगोलिक अवस्थाका बाबजुद सबै बालबालिकासम्म खोप सेवा पुर्‍याउन स्वास्थ्यकर्मी र स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे ।

स्वास्थ्य सेवा कार्यालयका खोप फोकल पर्सन कटकबहादुर महतले जन्मदेखि १५ महिनाभित्र सबै खोप पूरा गराउने तथा छुटेका १६ देखि ५९ महिनाका बालबालिकालाई खोज तथा खोप अभियानमार्फत समेटेर पूर्ण खोप सुनिश्चित गरिएको जानकारी  दिए । यसैबीच, पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकालाई पनि पूर्ण खोप सुनिश्चित तथा दिगोपनायुक्त पालिका घोषणा गरिएको छ । गाउँपालिकाका सबै नौ वडाले आवश्यक मापदण्ड पूरा गरेपछि पालिकालाई औपचारिक रूपमा घोषणा गरिएको हो ।

जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका खोप फोकल पर्सन घनबहादुर बुढाले सिम्ताले पूर्ण खोप सुनिश्चित घोषणा प्राप्त गरेसँगै अब सुर्खेत जिल्लालाई पनि पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने तयारी भइरहेको बताए । उनले कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गाउँ–गाउँ र घर–घरमा पुगेर सेवा प्रवाह गरिएको उल्लेख गर्दै आगामी दिनमा खोप कार्यक्रमलाई अझ प्रभावकारी र दिगो बनाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : २०८३ असार १६ गते मंगलबार